नबिल बैंकद्वारा एसएमई ग्राहकका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालयअन्तर्गतका साना तथा मझौला ऋणी ग्राहकलाई व्यावसायिक क्षमता अभिवृद्धि गर्ने हेतूका साथ क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम सञ्चालन गरेको छ ।

बैंकले आफ्ना ग्राहकको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गरी नेपाली उत्पादनको प्रवर्द्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ सुमन शाक्यलाई प्रशिक्षकका रुपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको र उक्त तालिम कार्यक्रम नेपालको बैंकिङ क्षेत्रमै पहिलो प्रयासका रुपमा रहेको छ ।

आज फागुन २७ गते इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका ४० भन्दा बढी साना तथा मझौला ऋणी ग्राहकको उपस्थिति रहेको थियो। करिब चार घन्टा सञ्चालन गरिएको उक्त कार्यक्रमको समीक्षा गर्दै सहभागी ग्राहकले यस किसिमको तालिमले आफ्नो व्यावसायिक क्षमता वृद्धिका लागि अति नै उपयोगी भएको साथै एक आपसमा अनुभव तथा ज्ञानको आदान–प्रदान भएको महसुस गरेको जानकारी गराए ।
नबिल बैंकले आफ्नो एसएमई ग्राहकको व्यवसायको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास एवं विस्तारका साथै बैंक र ग्राहकबीचको दिगो सम्बन्धलाई लक्षित गर्दै यस किसिमको तालिम आयोजना गरेको र आगामी दिनमा समेत यस्ता किसिमका ग्राहकमुखी कार्यक्रमहरु सञ्चालन गरिने नबिल बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त विभागका प्रमुख निरजकुमार बस्नेत डनिलले बताए । यसका साथै यस्ता किसिमका ग्राहकमुखी कार्यक्रम सञ्चालन गरी बैंकले नाफारहित बैंकिङको अवधारणाअनुरुप आफ्नो दिगो बैंकिङको लक्ष्य प्राप्ति गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *