


काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा सामान्य घटेको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ छ। गत वर्षको यस अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ७५ करोड रुपैयाँ थियो।
बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १३ करोड रुपैयाँ बराबर छ। जुन रकम मंसिर मसान्तमा सरकारलाई एफपीओबापत लाग्ने कर बुझाएपछिको हो। त्यस्तै बैंकको खुद ब्याज आम्दानी भने घटेको छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी २ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ। त्यस्तै बैंकको फी, कमिसन आम्दानी बढेको छ। बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६२ पैसा छ। बैंकको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ५८ पैसा छ। एक वर्षको अवधिमा बैंकको कोष लागत ७.५० प्रतिशतबाट घटेर ५.५२ प्रतिशतमा झरेको छ।
बैंकको निष्क्रिय कर्जा भने करिब दोब्बर भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा निष्क्रिय कर्जा कुल कर्जामा ०.७२ प्रतिशत रहेकोमा अहिले १.६० प्रतिशत पुगेको छ। बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७३ प्रतिशतमा झरेको छ। पुस मसान्तसम्म आधार दर ७.५६ प्रतिशत कायम भएको छ। निक्षेप र कर्जामा बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड दर) ४ प्रतिशत छ।

अर्थ सन्जाल