प्रधानमन्त्री कप : आशुतोषको शतक प्रेरित बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई २७४ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ४८.२ ओभरमा सबै विकेट गुमाएर २७३ रन जोडेको हो।

टीमका लागि आशुतोष घिराइयाले शतक प्रहार गरेका थिए। १११ बलको सामना गर्दै उनले १६ चौका र दुई छक्का प्रहार गर्दै ११८ रन जोडे।

त्यसबाहेक कप्तान रित गौतमले ४९, रविन जोशी ४३, प्रतिक श्रेष्ठ १९ रन बनाएर आउट भए। अन्य खेलाडीले सम्झनालायक प्रदर्शन गरेनन्।

कोशीका अभ्यास तिमिल्सिनाले तीन, कमल खत्री र हेमन्त राईले समान दुई-दुई तथा फिरदोष अन्सारीले एक विकेट लिए। कोशीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

अंकतालिका हेर्ने हो भने सुदूरपश्चिम प्रदेश तीन खेलमा छ अंकसहित शीर्ष स्थानमा छ।

दुई खेल मात्र खेलेको नेपाल पुलिस क्लब चार अंकसहित दोस्रो स्थानमा हुँदा समान अंक रहेको आर्मी, एपीएफ र बागमती प्रदेश क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *