छोरीमाथि बलात्कार: घटना लुकाउन बुबाले गरे छोराकै हत्या !

सुर्खेत।  सुर्खेतको पञ्चपुरीमा माघ २ गते राति १८ वर्षीय एक युवकको शव फेला पर्‍यो। प्रहरीका अनुसार पञ्चपुरी नगरपालिका-६ कुवापानीका भरत बुढाको बन्चरो प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको हो। उनको माघ २ गते राति १ बजे हत्या भएको प्रहरीले जनाएको छ।

मृतकका बुबाले नै हत्या गरेको अनुसन्धानले देखाइरहेको प्रहरीले जनाएको छ। बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध उनले प्रहरीमा जाहेरी दिएका थिए। जिल्ला प्रहरी कार्यालमा कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले आफ्नै बाबुविरुद्द जाहेरी दिएका थिए।

प्रहरीमा छोराले जाहेरी दिएको थाहा पाएपछि बुबा फरार भएका थिए। पीडित छोरीले बुबानै आएर दाजुको हत्या गरेको दाबी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बताएका छन्।

रातिको घटना भएकाले विस्तृत अनुसन्धान भइरहको प्रहरी उपरीक्षक थापाको भनाइ छ। पारिवारिक मनमुटाबका कारण हत्या भएको देखिएको प्रहरीले जनाएको छ।

स्थानीयवासीले युवकको हत्यामा उनकै बाबु संलग्न रहेको प्रमाणहरू फेला परेका बताएका छन्। मामाघर बस्दै आएकी छोरीलाई बुबाले भारतबाट घर फर्केको बेला भेट्न बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

आफू बलात्कृत भएको किशोरीले दाइलाई भनेकी थिइन्। दाइले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए। बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्की दिएका थिए। मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत पसेका थिए।

पीडित छोरीले भारतमा लुकेर बसेका बुबालेनै नेपाल आएर दाजुको हत्या गरेर भागेको दाबी गरेकी छन्। प्रहरीको अनुसन्धानमा उनी जनवरीको १२ र १३ तारिखमा भारतबाट नेपालमा आएको खुलेको छ। १४ मा नेपाल पुगेर १५ तारिख राति हत्या गरेर भागेको हुनसक्ने प्रहरीको भनाइ छ।

बुबामाथि शंका गर्ने आधारहरू भेँटिदै गएको र पीडतले पनि बुबाले नै हत्या गरेको प्रारम्भिक बयान समेत दिएको एक प्रहरी अधिकारीको भनाइ छ। उनले आफूलाई बलात्कार गरेको घटनाले बुबा र दाजुबीच विवाद बढेको प्रहरीमा बयान दिएकी छन्।

घटना शंकास्पद देखिएपछि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *