


काठमाडौं। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान सरकारका काम–कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । यादवले बिपी कोइरालाको समयको राजनीतिक परिवेशलाई जोडेर अहिले देशमा केही भएन भनेर मूल्यांकन गर्नु उचित नुहने बताएका छन्।
देशमा दुईवटा संविधान सभाबाट जारी भएको संविधानपछि पनि जनताको अवस्थामा देखिनेगरी सुधार हुन नसक्नु चिन्ताको विषय भएको उनले औंल्याए। नेपाली राजनीतिले बिपीले लिएको गाउँ जोड्ने नीतिलाई मनन् गर्नुपर्ने धारणा राखे। बीपी, समाज, राजनीति र अहिलेको व्यवस्थाको अध्ययन गरी गम्भीर भएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ।
बिपी विचार राष्ट्रिय समाजले प्रकाशनमा ल्याएको ‘बीपीवाद’ पुस्तकको शनिबार काठमाडौंमा लोकार्पण गर्दै यादवले बिपीको विचार अजर र अमर रहेको उल्लेख गरे। उनले बिपीको पालामा जस्तो नेपाली कांग्रेसको दर्शन, विचार र नैतिक धरातल अहिलेको कांग्रेसजनमा नभएको टिप्पणी गरे।
‘गौरव गर्छु कि म त्यो (कांग्रेस) संस्थामा छैन। त्यो संस्थाबाट म देशको राष्ट्रपतिसम्म भएँ। त्यो संस्थाको दर्शन बिपीले दिनुभएको थियो र बिपीका जो सहयात्रीहरु थिए–गणेशमानजी, कृष्णप्रसादजी, गिरिजाप्रसाद कोइरालालगायतको नैतिक धरातल अहिलेको कांग्रेसीमा खोज्यौं भने हामी आफैं बुझिहाल्छौं,’ डा. यादवले भने।
बिपीको फिजिसिएन बनेर काम गरेको स्मरण गर्दै डा. यादवले अब नेपालीहरूमा पछाडि फर्किएर हेर्ने समय नभएको उल्लेख गरे।
उनले दैनिक हजारौँ मानिस विदेश गइरहेको भन्दै उनले गुनासो गरे । उनले देश निर्माणका निम्ति कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताए । सबै मिलेर देश, जनता र सार्वभौमसत्ताको अस्तित्व जोगाउनुपर्नेमा उनले जोड दिए ।

अर्थ सन्जाल