काठमाडौं । “योर पार्टनर फर प्रोग्रेस” भन्ने नारा बोकेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कन्सल्टेन्सीसँग मिलेर गम्भीर अपराध गरेको पाईएको छ ।बैंकको महाबौद्ध शाखाबाट न्यू प्लाजा स्थित आर्क ग्लोबल कन्सल्टेन्सीसँगको मिलेमतोमा चर्को रकम असुल गरि नक्कली ब्यालेन्स सर्टिफिकेट बनाइ विदेश पठाउने गरेको तथ्य अर्थसञ्जाल डटकमले फेला पारेको छ ।
पटकपटक विभिन्न विवादमा तानिरहने सिटिजन्स बैंकले यसपटक विदेश जाने विद्यार्थी र भिजिट भिसामा जानेहरुको नक्कली ब्यालेन्स देखाई पैसा असुल्ने गरेको पाइएको हो। बैंकले विदेशजानेहरुको लागि खाता खोलेर एक दिनमा एक जना बराबर ९० लाख रुपैयाँसम्म देखाईदिने गरेको छ। जसका लागि ग्राहकबाट १ लाखको एक दिनका लागि ५०० भन्दाबढी रुपैयाँ असुल गर्ने गरेको छ।
यस विषयमा बुझ्न खोज्दा सिइओ गणेशराज पोखरेलले भेट्नै चाहेनन् । हामीले उनलाई बारम्बार फोन सम्पर्क गर्दा मोबाइलनै बन्द गरेपछि प्रवक्ता नारायण राज अधिकारीसँग कुरा गर्दा यस विषयमा बैंक नै अनभिज्ञ रहेको हास्यास्पद जवाफ दिए । उनी भन्छन्, यस विषयमा हामीलाई कुनै पनि जानकारी छैन । यो सरासर गलत हो, कुनै कर्मचारीले यस्तो गरेको भेटिए अनुसन्धान गरी दोषी लाई कारबाही गर्छौं।’
यता कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम प्रसाद ढकाल आफूहरुले बैंकसँगको मिलेमतोमानै नक्कली ब्यालेन्स सर्टिफिकेट बनाएर विदेश पठाउने गरेको स्वीकार्छन् । उनी भन्छन्, ‘हामीले मात्रै यस्तो काम गरेका छैनौं । यस्ता काम गर्ने अरु पनि धेरै बैंक र शाखाहरु छन् । म मात्र टार्गेटमा किन परे ?’ यस्तो काम गर्ने सबैको अनुसन्धान गर्नुपर्ने भन्दै पन्छिन खोजे ।
‘यस बैंकमा अन्य कन्सल्टेन्सीबाट पनि रिफर गरेर ग्राहक आउँछन्, आएको कमिसन मैले मात्र लिने हैन बराबरी भाग लाग्छ’, उनले भने ।
यसैगरी कन्सल्टेन्सीले ५० हजारभन्दा बढी विद्यार्थी विदेश पठाएको उनले दावी गरे । ग्राहकले बुझाएको रकम आफूहरुले मात्र नभई बैंक र अन्य कन्सल्टेन्सीलाई समेत मोटो रकम बुझाउने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘ग्राहकले तिरेको शुल्कवापत बुझाएको रकम मैले मात्र खाएको छैन । अन्य कन्सल्टेन्सीलाई पनि बुझाउने गरेको छु नपत्याए अनुसन्धान गर्नुस्।
मैले लिएको रकमको बैंकलाई पनि दिनुपर्छ ।’ बैंकसंगको सहकार्य बिना यस्तो काम गरे भन्ने बैंकको आरोप निराधार रहेको उनको भनाई छ।
के भन्छ राष्ट्र बैंक ?
बैंकबाट यस्तो कार्य हुनु गम्भीर अपराध भएको राष्ट्र बैंकले जनाएको छ । उक्त घटनाबारे उजुरी आएमा छानबिन गरी कारबाहीको दायरामा ल्याउने राष्ट्र बैंकका एक अधिकारीले बताए । उनी भन्छन्, ‘बैंकबाटै यस्तो अपराध हुन्छ भन्दा म आफैँ आश्चर्यचकित भए। यस बिषयमा हामी अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउँछौ ।
बैंक र कन्सल्टेन्सीको मिलेमतोमा सर्वसाधारण ग्राहक कसरी ठगिन्छन् भन्ने विषयमा विस्तृत जानकारी सहितको समाचार हामी केही दिनमा तथ्य र प्रमाणसहित प्रकाशित गर्नेछौं ।







