


काठमाडौं । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन्। करिव ४० वर्ष भारतीय जेलमा बिताएका शर्मा यतिबेला उपचारको पैसा तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका हुन्।
२०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गरेको थियो। ६ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आए पनि अस्पताललाई बुझाउनु पर्ने रकम बुझाउन नसक्दा परिवारले घर ल्याउन सकेको छैन।
दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले महिनाअघि नै ठूलोबुबा (दुर्गाप्रसाद) लाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको गुनासो गरे। गोपालले दुर्गाप्रसादको थप उपचारका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट सहयोगको प्रस्ताव आइरहे पनि अहिले राखिएको अस्पतालबाट निकाल्न नसकिएको बताए।
उपचारमा ७ लाख १५ हजार खर्च भएकोमा तीन लाख रुपैयाँ बुझाइए पनि चार लाख १५ हजार रुपैयाँ नहुँदा ठूलो समस्या भइरहेको गोपालको भनाइ छ।
अस्पतालमा छ महिनाअघि नै ५ लाख १५ हजार रुपैयाँ बाँकी भएको जनाउँदै उनले अहिले हिसाब–कति पुग्यो थाहा थाहा नभएको बताए। अस्पतालले बारम्बार फोन गरिरहेकाले आफूहरू समस्यामा रहेको उनी बताउँछन्।
‘ठूलोबुबालाई भारतीय ‘हाइकोर्ट’को आदेशअनुसार दिइएको रकम पनि यसअघिकै उपचारमा धेरै खर्च भइसकेको छ। थप उपचारका लागि इलामस्थित मानवअधिकार मञ्चले समेत अस्पतालसम्म लैजान सहयोग गरेको थियो। तर अहिले रकम नहुँदा अस्पतालबाट निकाल्न गाह्रो भइरहेको छ,’ गोपाल भन्छन्।
ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनका अध्यक्ष डा गिरिराज भन्टानाले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताएका छन्। ‘दुर्गाप्रसादमा देखिएको रोग सिजिफोर्नियाँ हो। शत्प्रतिशत निको भएको त होइन। तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ,’ उनले भने।
दुर्गाप्रसाद जेलबाट छुटेर आएपछि उनीमा मानसिक समस्या देखिएकाले विराटनगरमा समेत १७ दिन उपचार गरिएको गोपालले बताएका छन्।
इलामको माई नगरपालिका १०, लुम्बाक घर भएका दुर्गाप्रसादलाई २०७७ साल चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो। उनी २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए। घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी २०७७ साल फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला परेका थिए।
भिन्न सङ्घसंस्थाको पहलमा उनलाई २०७७ साल चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो।

अर्थ सन्जाल