


तुर्माखाँद गाउँपालिका सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा पर्छ। उक्त गाउँपालिकाको अध्यक्ष डम्बर बहादुर बिसी रहेका छन्। उनी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्। विकट पहाडी जिल्लाको पालिका भएकाले तुर्माखाँदमा अपेक्षित विकास हुन सकेको छैन। पर्याप्त स्रोतसाधनको अभावमा गाउँपालिकाले विकास निर्माणका कार्यलाई अपेक्षित गतिमा अगाडि बढाउन नसकेको हो। तर, पनि पालिकाले के-कसरी काम गरिरहेको छ? यसै विषयमा केन्द्रित रहेर अर्थसञ्जालका लागि खकेन्द्र बहादुर बुढाले गाउँपालिका अध्यक्षसँग संवाद गरेका छन्।
जनप्रतिनिधिका रूपमा आउनु भएको पनि डेढ वर्ष पुग्यो, यो अवधिमा के-के काम गर्नुभयो ?
हामीले डेढ वर्षको कार्यकालमा दोस्रो आर्थिक वर्षको योजना बनाएर सुरु गरेका छौं। खास गरी शिक्षा क्षेत्रलाई प्राथमिकता दिने भनेर कामहरू गरिरहेका छौं। पालिका भित्रका विद्यालयमा १० कक्षासम्म संविधान बमोजिम उनीहरूले पाउनु पर्ने सेवा सुविधामा जोड दिएका छौं। नयाँ शैक्षिक सत्रबाट लागू हुनेगरी राजनीतिक दलमा आबद्ध नेताहरू तथा शिक्षकका सन्तानलाई सामुदायिक विद्यालयमा नै भर्ना गर्ने निर्णय गरेका छौं। ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई कुनै पनि राजनीतिक दलको विद्यार्थी संगठनमा आबद्ध हुन नपाउने निर्णय गरेका छौं। तुर्माखाँद बहुमुखी क्याम्पस स्थापनाका लागि सबै प्रक्रिया पुरा गरेका छौं। क्याम्पस स्थापना कार्य सम्बन्धनको अन्तिम प्रक्रियामा छ। हामीले पालिकाका दुई विद्यालयलाई माद्यामिक तहसम्म सञ्चालनका लागि अनुमति दिएका छौं। विद्यालयमा दरबन्दी मिलानको काम भइरहेको छ। शैक्षिक गुणस्तर सुधारका लागि हामीले नीतिगत रूपमै कामको थालनी गरिसकेका छौं।
स्वास्थ्यतर्फ हामीले दुई ओटा एम्बुलेन्स खरिद गरेका छौं। १० सैय्याको अस्पताल निर्माणाधीन अवस्थामा छ। अस्पताल निर्माणकार्य यसै आर्थिक वर्षमा सम्पन्न गर्ने हाम्रो योजना छ। अस्पतालबाट एमबिबिएस डाक्टरसहितको सेवा प्रदान गर्ने हाम्रो योजना छ। निर्माणाधीन अस्पतालमा एक्सरे मेसिन जडान गरिसकेका छौं। पालिकाको प्रशासनिक भवन निर्माणका लागि टेन्डर पक्रिया सकिएर सम्झौताको क्रममा छ। एक/दुई दिनभित्र सम्झौता भएर काम अगाडि बढाउने छौं। पालिकाको एक नम्बर वडाको रफ गाउँसम्म सडक पुगेको छैन, उक्त क्षेत्रलाई सडक सञ्चालनसँग जोड्ने काम भइरहेको छ।
जनपेक्षाका प्राथमिकताका विषय के-के पाउनु भयो ?
स्थानीय सरकार भनेपछि सबैको ध्यान सानोतिनो कुरामा पनि हुन्छ। स्थानीय सरकारले हामीलाई सहयोग गर्नुपर्छ भन्ने जनभाव हुन्छ। आफ्नो साधनस्रोतले भ्याएसम्म हामीले काम गरी नै रहेका हुन्छौं। संघले र प्रदेशले आफू अनुकूल बजेट विनियोजन गर्ने तथा हामीसँग साधनस्रोत अपर्याप्त हुने हुँदा पनि जनपेक्षा अनुसार हामीले काम गर्न सकिरहेका छैनौं। आफूसँग पर्याप्त स्रोतसाधन नहुने हुँदा संघ र प्रदेशको जति बजेट दिन्छ, त्यसमा रहेर हामीले योजना बनाउनु पर्ने हुन्छ। विकट क्षेत्र भएकाले सामाजिक र आर्थिक रूपमा हामी निकै पछाडि छौं। भाँडाको भवनबाट हामीले प्रशासनिक काम गरिरहेका छौं। हामिले मासिक दुई लाख त घर भाँडा नै तिर्नुपर्छ। सुर्खेत हुँदै जङ्गल घाट, डुङ्गे स्वर, टुनिपगर क्षेत्रमा आवतजावत गर्न पक्की पुल छैन। त्यहाँ पुल भयो भने सुर्खेतसँगको हाम्रो आवागमन सहज हुने थियो। केही क्षणमै पुगिने बाटोमा पुल नभएको कारण ८/९ घण्टा हिँड्नुपर्छ। त्यो क्षेत्रमा एउटा पक्की पुलको आवश्यकता महसुस गरेका छौं।
कृषि क्षेत्र हाम्रा लागि सम्भावना बोकेको क्षेत्र हो। त्यस क्षेत्रमा लगानी गर्न बाँकी छ। पर्यटकीय हिसाबमा तित्वडा क्षेत्रको प्रचार गरिरहेका छौं। त्यहाँ पनि हुनुपर्ने गरी विकास हुन सकेको छैन। समस्यालाई हामीले सुधार्दै लैजानुपर्छ।
ती समस्या समाधानका लागि तपाईंका दीर्घकालीन योजना के छन् ?
प्राथमिकता शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा हो। हामीले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर थप्न खोजिरहेका छौं। हाम्रो जनशक्ति जुनसुकै क्षेत्रमा पनि बिक्न र प्रतिस्पर्धा गर्न सक्ने खालको होस् भन्ने हाम्रो चाहना रहेको छ।
केन्द्र सरकार र प्रदेशसरकारसँग कस्तो समन्वय भइरहेको छ? कस्तो सहयोग पाउनु भएको छ ?
हामीले सङ्घ र प्रदेशबाट अपेक्षित ढङ्गले योजना पाइसकेका छैनौँ। संघ र प्रदेशबाट प्राप्त हुने बजेट निकै कम छ। हामीले संघीय मन्त्री, माननीय र प्रदेश सरकारसँग समन्वय गरिरहेका हुन्छौं। तर, अपेक्षित सहयोग पाउन सकेका छैनौं।
तपाईंको पालिकामा कर्मचारीको पर्याप्तता वा अपर्याप्तता के छ ?
हामीसँग कर्मचारी निकै अपर्याप्त छन्। पाँच/छ जना भन्दा कर्मचारीलाई करारमा राखेका छौं। सबै करार कर्मचारीहरूले नै सेवा प्रवाह गर्नुपर्ने अवस्था छ। त्यसैले कर्मचारी व्यवस्थापनको विषय आफैँमा जटिल छ। यसले सेवाप्रवाहमा समेत असहजता भइरहेको छ।
स्थानीय तहमा पछिल्लो समय भ्रष्टाचारको डर लाग्दो अवस्था छ, यसप्रति तपाईं कत्तिको सजग हुनुहुन्छ?
म सजग छु। मैले आर्थिक नीति, दैनिक नीति जस्ता थुप्रै नीति बनाएर काम गराइरहेको छु। मैले चाहेरमात्र भ्रष्टाचार पुरै रोकिन्छ भन्दैन। यसमा सबै जना सचेत हुनुपर्छ।
अन्तिममा पालिकावासीलाई के भन्न चाहनुहुन्छ ?
हामीले केही काम गर्न खोजेका छौं । त्यसमा सबै जनताको साथ पाउनेमा म विश्वस्त छु। एक जनाले चाहेर केही पनि गर्न सकिँदैन। सबै पालिकावासीलाई हाम्रा योजनामा साथ दिन अनुरोध गर्दछु।

खकेन्द्र बहादुर बुढा