


काठमाडाैं । विश्व अर्थतन्त्रमा केहि समयदेखि अनेकन किसिमका चुनौतीहरु देखिएका छन्। जसको प्रत्यक्ष/ अप्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको छ। अर्थतन्त्र सुधारको चुनौतीसंगै लगानीमैत्री वातावरणको अभाव खड्किएको अवस्था छ। जसका कारण ठूला देखि साना लगानीकर्तासमेत नेपालमा नै लगानी किन गर्ने भन्ने बिषयमा सोच्न बध्य भएको अवस्थामा विदेशी लगानी भित्र्याएर नेपाललाई समृद्ध र सम्मुन्नत बनाउने बिषय अझै जटिल बन्न पुगेको छ।
पछिल्लो समय धरासायी बन्दै गएको नेपालको अर्थतन्त्र सुधारका निमित्त के के गर्न सकिन्छ? विदेशी लगानी भित्र्याएर कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ? नेपालमै लगानी मैत्री वातावरण कसरी सृजना गर्ने ? भन्ने लगायतका विषयमा केन्द्रित रहेर आज हामीले प्राध्यापक, डाक्टर गान्धी पण्डितसँग कुराकानी गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको संवादको सम्पादित अंश:
धेरै मानिसले अझै पनि कम्पनी के हो भन्ने बुझेको पाइँदैन,तपाई त कर्पोरेट क्षेत्रको कानुन विज्ञ पनि हुनुहुन्छ, खास कम्पनीको अवधारणा कसरी विकसित भएको हो ?
कम्पनी असाध्यै सुन्दर अवधारणा हो। व्यापार गर्ने त व्यक्तिले हो। व्यक्तिले आफ्नो गोजीबाट पैसा झिकेर कमाउँदै जान्छ, व्यापार बढाउँदै जान्छ। यति हुँदा पनि के व्यापार कम्पनीले गर्छ र ? भन्ने प्रश्न उठ्न सक्छ। कम्पनीको भौतिक स्वरुप त हुँदैन।
कम्पनी बेलायतबाट विकास भएको हो। जब व्यक्तिलेमात्र व्यापार गर्थे, व्यापार गर्दा व्यक्तिले आर्जन पनि गर्थ्यो। व्यापार गर्दा ऋण पनि लिनुपर्थ्यो। व्यापार चले त व्यक्ति धनी हुने भयो, व्यापार चलेन भने व्यक्ति टाट पल्टिने जोखिम हुन्थ्यो। त्यसैले व्यक्तिले व्यापार गरे पनि ठूलो व्यापार गर्न चाहेनन्। समय अनुसार व्यापारको क्षेत्र बढ्दै गयो। त्यसैले मानिस ठूलो व्यापार गर्न नचाहने भएपछि बेलायतको समाजले व्यापार बढ्दै जानुपर्छ भन्ने अनुभव गर्यो। व्यापारमा नोक्सान हुँदा ब्यक्ति सिद्धिन नपरोस् भनेर कम्पनीको अवधारणा आएको हो।
व्यापार त व्यक्तिले गर्ने हो। कम्पनीमा व्यापार प्रत्येक्ष नगरेर पुँजी शेयरमार्फत लगानी गरेर व्यापार गर्ने अवधारणा आयो। कानुन अनुसार कम्पनी दर्ता गरेपछि त्यो कानुनको आँखामा व्यक्ति हो। त्यसपछि कम्पनीमा शेयर हालिन्छ र कम्पनीलाई जीवन्तता दिइन्छ। कम्पनीमा सञ्चालक समिति र शेयर होल्डर हुन्छन्। उनीहरूले कम्पनीका लागि काम गर्छन्। काम गर्दै जाँदा कम्पनीले नाफा कमाउँदा उसका शेयर होल्डरहरूलाई खर्च कटाएर नाफा भएको सम्पत्ति लाभाशंका रूपमा प्रदान गरिन्छ। कुनै समयमा कम्पनी केही कारणले घाटमा गएमा कम्पनी डुबे पनि व्यक्ति डुब्दैन। शेयरवाफतको रकम मात्रै डुब्छ। त्यसपछि अर्को उद्योग खोलेर आर्थिक उपार्जन गर्न सकिन्छ।
केही व्यक्ति मिलेर कम्पनी खोलियो भने त्यसलाई पब्लिक लिमिटेड कम्पनी भनिन्छ। लिमिटेड कम्पनी भनेको तपाईंको दायित्व अनलिमिटेड हुँदैन भन्ने हो। कम्पनी दर्ता नगरी व्यापार गर्दा अनलिमिटेड लगानी हुन्छ। व्यक्तिले एक लाखको व्यापार गर्दा दायित्व १० लाख भयो भने घरघरानाबाट ऋण तिर्नुपर्छ। त्यसैले व्यक्तिले धेरै लगानी गर्न सक्दैन र यो अवधारणाको विकास भएको हो। कम्पनी आउनु राम्रो हो।
धेरै कम्पनी दर्ता हुँदा नेपालमा आर्थिक र व्यापसायीक कारोबार बढ्दो छ भन्ने कुरालाई देखाउँछ। कम्पनी दर्ता गर्नुपर्ने कानुन आए पनि नेपालको कानुनमा धेरै कमी कमजोरी छन्। ती कमजोरीलाई सच्याउँदै सुधार गर्नुपर्ने आवश्यकता छ। तर, यो व्यवसाय गर्ने उत्तम विकल्प भने हो।
एउटा कम्पनी सफल बन्न के के चाहिन्छ ,नेपालमा कम्पनीहरू कानुनअनुसार सञ्चालनमा छन् त ?
कम्पनी दर्ता भइसकेपछि सञ्चालन गर्न सबैभन्दा पहिले पुँजी नै चाहिन्छ। कम्पनीको जति पुँजी हुन्छ, उसले सोही आधारमा व्यापार गर्छ। कम्पनीलाई सञ्चालन गर्न राम्रो शेयरहोल्डर चाहिन्छ। कम्पनी दर्ता भइसकेपछि छुट्टै कानुनी अस्तित्व प्राप्त गर्छ। कम्पनी अभौतिक हुने हुनाले उसलाई सञ्चालन गर्ने सञ्चालक समिति र शेयर धनी नै हुन्। उनीहरूका गतिविधिले कम्पनी अगाडि बढ्ने हो।
नेपालमा अहिले ९० प्रतिशत मा नि कम्पनी दर्ता नगरेरै साझेदारीमा व्यापार गरिरहेका छन्। उनीहरूमा कम्पनीमा गइयो भने आफ्नै पैसा जाला कि भन्ने गलत बुझाइ छ। तर देशलाई आर्थिक समृद्धिमा लैजाने हो भने कम्पनीद्वारा व्यापार गर्ने पद्धतिलाई परिमार्जन गर्नैपर्छ।
कम्पनीको दैनिक कारोबार, कम्पनीको दैनिक प्रशासनमा कम्पनी ऐनको हस्तक्षेप हुँदैन। कानुनले दिएको प्रकृयागत समिति बनाउने, शेयर पुँजी उठाउने काम आफैँ गर् भन्छ। समयमा दर्ता गरेन, समयमा रिपोर्ट दिएन भने कानुनले कारबाही गर्छ। कम्पनीमा धेरै शेयरधनी हुन्छन्। त्यहाँ निर्णय गर्दा बहुमत र अल्पमतको कुरा आउँछ। कम्पनीले कुनै निर्णय लिँदा सञ्चालकका बीचमा छलफल गर्छ र त्यहाँ बहुमतको निर्णय मान्ने हुन्छ।
कम्पनीमा जाँदा लगानी डुब्छ कि भनेर चिन्ता गर्ने जनतालाई राज्यले बुझाउन अझैँ नसकेको अवस्था हो ?
केहि हद सम्म यो सत्य हो,तर कम्पनीको विस्तार केवल राज्यले प्रचार गरेरमात्र हुने बिषय होइन। आर्थिक गतिविधि जति बढ्दै गयो, त्यो विस्तारसँगै व्यापार व्यवसायको परिमाण पनि बढ्दै जान्छ। त्यसपछि कम्पनीमा दर्ता हुनुपर्ने अवस्था स्वत: आउँछ। एउटै कम्पनीले अरु अन्य शाखा कम्पनी पनि दर्ता गर्नुपर्ने अवस्था आउने भएको हुन्छ।
नेपालमा लगानीमैत्री वातावरणनै छैन भनिन्छ नि, यसमा कतिको सत्यता छ ?
एक हिसावले यो कुरा सत्य पनि हो। कम्पनी दर्ता गर्नुमात्र ठूलो कुरा होइन। केही मेम्बरको नाममा आर्थिक विनियमावली बनाउने, सबैले हस्ताक्षर गरेर आवद्धता जनाउने हो। मैले कपडा उद्योग खोल्नुपर्यो भने मैले पहिला कम्पनी दर्ता गर्नुपर्छ। कम्पनी रजिस्ट्रेशन हुन्छ। भ्याट प्यानमा जानुपर्छ। त्यसपछि व्यापार गर्न मिन्छ।
कम्पनी दर्ता गरिसकेपछि उद्योगले सहज रूपमा काम गर्ने वातावरण हुनुपर्छ। त्यो वातावरण प्रदान गर्ने दायित्व राज्यको हो। त्यसका लागि करमा सहुलियत दिनेलगायत काम राज्यले गर्ने हो। उद्योग बढ्दै जाँदा करको दायरा पनि बढ्छ। कारोबार बढ्दा बैंकhले पनि ऋण सहजरुपमा दिन्छन्। यसरी नै मुलुक आर्थिक समृद्धिमा जान्छ।
नेपालमा विदेशी कम्पनी आउँदा नाफा कमाएर मात्र जान्छन् भन्ने बुझाई छ नि, के यस्तै अवस्था हो त ?
होइन, यो गलत बुझाइ हो। लगानी विदेशीहरूले आफ्नो नगद पुँजी ल्याएर आएर गर्ने हो। त्यसरी लगानी गर्दा मुलुकमा कुन व्यवसाय गर्दा नाफा आर्जन गर्न सकिन्छ भनेर उनीहरूले सोच्छन्। यदि विदेशी लगानी गरेर मुनाफ लैजानु गलत हो भनेर नीतिगतरूपबाट भनियो भने विदेशी लगानी आउँदैन। आत्मनिर्भर हुने काम गर्नुपर्छ।
विदेशी लगानीको भारबाट आफूलाई उन्मुक्त गर्दै स्वदेशी लगानी बढाउनुपर्छ। उद्योग धन्दा चलाउने सन्दर्भमा विदेशी लगानीलाई आउन दिनुपर्छ। नेपालमा धेरै व्यक्तिले लगानी गर्न चाहे पनि पुँजीको अभाव छ। त्यो ग्यापलाई परिपूर्ति गर्न पनि विदेशी लगानी आवश्यक छ। विदेशी लगानीकर्ता आउने भनेको घाटाका लागि होइन, नाफाकै लागि हो। उसले व्यापार गर्दा कर लगायत राज्यलाई तिर्नुपर्ने सबै दायित्व पूरा गरिरहेको हुन्छ। विदेशी लगानी आउँदा ज्ञान, विज्ञता पनि सँगसँगै आउँछ । नाफा कमाएर मात्र जान्छन् भन्ने बुझाई सरासर गलत हो।
विदेशी लगानी रहेको एनसेल यतिबेला विवादमा छ, खासमा एनसेलमा देखिएको समस्या र उठिरहेको विवाद के हो ?
एक विदेशी कम्पनी आएर ठगेर भाग्यो भन्ने कुरा एनसेल प्रकरणमा ठिक होइन। हिजो एनसेलको शेयर बिक्री भयो, आजिटियाले एनसेलको शेयर बिक्री गरेर भाग्यो भनिएको थियो। त्यो कर छल्न गरिएको हो भनेर अपवाह पनि फैलाइयो। अध्ययन गर्दा एनसेलनमा रोनाल्ड होल्डिङमा एनसेलको कुनै पनि दायित्व बिक्री भएको छैन। ८० प्रतिशत दायित्व शेयर छ।
आजको दिनमा एनसेलको शेयर बेचिएको छ। आजियाटा भन्ने युकेको कम्पनीले शेयर बेचेको हो। त्यो किन्नेचाहिँ स्पेक्ट्रलाइट युके हो। हाम्रो देशको सेवा सञ्चालन गर्ने एनसेलको शेयर हामीलाई नै थाहा नदिई बाहिरको देशमा बसेर एक खर्ब ३६ अर्बमा किनेको कम्पनी कर छल्नका लागि पहिला ६ अर्ब भनियो, पछि ६० अर्ब भनियो। यस्तो हेर्दा यो त ठूलै कुरा हो भन्ने लाग्छ। तर, वस्तविकता फरक छ।
टेलियासोनेरा भन्ने स्विडेनको कम्पनी यहाँ लगानी गर्न आयो। उसले नेपाल आएर कम्पनी दर्ता गरेर नेपाली २० प्रतिशत र उसले ८० प्रतिशत राखेर एनसेल गठन गर्न सक्थ्यो। उसले त्यस्तो गरेन। उसले लगानी चाहिँ नेपालमा गर्ने तर प्रत्यक्ष संलग्न भएर लगानी नगरेर सेन्ट किट्स, भर्जिन आइल्याण्डमा गएर अफसोर कम्पनीमा दर्ता गर्यो । त्यो अफसोर कम्पनीमा दर्ता गर्नुको अर्थ उसले आफ्नो पैसा सेन्ट किट्स, भर्जिन आइल्याण्डमा पठायो र अफसोर कम्पनीको सय प्रतिशत सेयर होल्डिङ टेलिसोनेराले गर्यो।
रेनल्ड्स होल्डिङ कम्पनी जो सेन्ट किट्स, भर्जिन आइल्याण्डमा दर्ता भएको थियो, त्यो कम्पनीले बल्ल नेपालमा विदेशी लगानीर्ताका रुपमा आफूलाई प्रस्तुत गर्यो । उसले नेपाली पार्टीलाई २० प्रतिशत र आफूलाई ८० प्रतिशत आफ्नो लगानी भनेपछि नेपाल सरकारले अनुमति दियो। त्यसपछि ८० प्रतिशत रेनल्ड्स होल्डिङ कम्पनी लिमिटेड र २० प्रतिzत सुनिभेरा क्यापिटल भेञ्चर नामक नेपाली कम्पनीले होल्ड गरेको कम्पनी बन्यो।
कम्पनी रजिष्ट्रारको कार्यालयमा ८० प्रतिzत रेनाल्ड होल्डिङ लिमिटेड छ र २० सुनिभेरा छ। अफसोरबाट आजिटियाले रेनल्ड्स होल्डिङ कम्पनी किन्यो। आजिटियाले कम्पनी किनेपछि रेनल्ड्स होल्डिङको बोर्ड (सञ्चालक समिति) कन्ट्रोल भयो। सेन्ट किट्समा भएको सञ्चालक समितिले एउटा प्रतिनिधि पठायो। ८० प्रतिशत सेयर होल्डर रेनल्ड्स होल्डिङ छ, उसको प्रतिनिधि आएर एनसेलमा बस्छ। सञ्चालक समिति गठन हुन्छ । त्यसको अध्यक्ष पनि आजिटियाले पठाएको रेनल्ड्स होल्डिङकै मान्छे हुन्छ। सञ्चालक समितिमा चार जना छन् भने ३ वटा आजियाटाको हुन्छ, एउटा २० प्रतिशतवाला सुनिभेराको हुन्छ।
यसरी एनसेलमा पूरा कन्ट्रोल असफोर कम्पनी भयो। आजको दिनमा रेनल्ड होल्डिङले कर तिर्ने जिम्मा लिएको छ। त्यसैले एनसेलको विवाद छैन। टुंगो लागिसक्यो।
नेपालका लागि ठूला लगानी कसरी भित्र्याउन सकिन्छ ?
विदेशी लगानी गर्दा दुई प्रकारको हुन्छ। एउटा जी टू जी हुन्छ। त्यो ऋण आफ्नो योजना अनुसार चलाएर मुलुकले ऋण तिर्दै जान्छ। तर, हामीले खोजेको भनेको ठूला-ठूला लगानी, उद्योगधन्दा, उत्पादन व्यवसाय, अस्पतालमा हो। सरकारले चाहेर कतिपय क्षेत्रमा पुँजी अभावले लगानी गर्न सकिरहेको हुँदैन। त्यसैले पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणा अनुसार पनि लगानी भित्र्याउन सक्छ।
त्यसको कानुन पनि छ। त्यसका लागि आवश्यक पर्ने सहुलियत पनि सरकारले दिनुपर्छ। विदेशी लगानीकर्ताको कुरा गर्दा म अन्य देश छोडेर नेपाल आएँ भने मलाई के हुन्छ फाइदा भनेर हेर्छ। सरकारले उसको लगानी सुरक्षित हुने वातावरण बनाउनुपर्छ। विदेशी लगानीकर्तासँग करमात्र देउ भन्यो भने लगानी भित्रिँदैन।
[ डा गान्धी पण्डित अमेरिकाको कोलम्बिया युनिभर्सिटीमा कर्पोरेट कानुन अध्ययन गरेर नेपाल आएका व्यक्ति हुन्। वाणिज्य कानुन, कम्पनी कानुन र विदेशी लगानीका विषयमा नै प्राध्यापन गरेका उनले नेपाल ल क्याम्पसमा ३७ वर्ष अध्यापन गरेका छन् ]

अर्थ सन्जाल