


काठमाडौं । हिमाली क्षेत्रमा मूल्यवृद्धिको चाप परेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार उपभोक्ता मुद्रास्फीति हिमाली क्षेत्रमा ८.७९ प्रतिशत बराबर पुगेको छ ।
केन्द्रीय बैंकका अनुसार कात्तिक महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ प्रतिशत बराबर छ ।
यस्तै तराईमा ४.४२ प्रतिशत, पहाडमा ६.०७ प्रतिशत र हिमालमा ८.७९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रमा यस्तो मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक ८६ प्रतिशतले घटेको छ ।
कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलपूmलको १४.०१प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ ।

अर्थ सन्जाल