


काठमाडौं । विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी ‘चाइना कन्टेप्रररी एम्पेरेक्स टेक्नलोजी’ (सीएटीएल)ले आफ्नो उत्पादन क्षमता बढाएसँगै बजारमा एकछत्र राज गर्न थालेको छ । विश्वबजारमा सीएटीएलको शेयर ब्याट्री उत्पादन गर्ने कम्पनीहरुमा सबैभन्दा माथि पुगेको छ ।
चिनियाँ कम्पनी सीएटीएलले विश्वका ब्याट्री उत्पादक कम्पनीहरुलाई पछि पार्दै शेयरमा उच्च वृद्धि गर्न सफल भएको हो । भर्खरै इलेक्ट्रिक कारमा बढ्दो ब्याट्रीको माग पूरा गर्न सीएटीएलले आफ्नो प्लान्टको क्षमतामा पनि वृद्धि गरेको छ ।
होजोन अटोको ब्राण्ड उत्पादन नेटा अटोमा लगानी गरेसँगै सीएटीएलको बजारमा झन् वृद्धि भएको हो । चीनको ‘चाइना कन्टेप्रररी एम्पेरेक्स टेक्नलोजी’ (सीएटीएल) अब प्रत्येक एक सेकन्डमा एक सेल ब्याट्री उत्पादन गर्ने क्षमता बनाएको छ । कम्पनीको चिनियाँ प्लान्टबाट अब केबल २.५ मिनेटमा एउटा गाडीलाई आवश्यक पर्ने ब्याट्री प्याक तयार हुनेछ ।
सीएटीएलले विश्वको मुख्य अटोमोवाइल कम्पनीहरु टेस्ला, मर्सिडिज, बीएमडब्लू, एसएआईसीलगायतका ब्राण्डहरुको लागि ब्याट्री सप्लाई गर्दै आएको छ । यसका अलावा चिनियाँ ब्राण्ड नेटा, जिली जस्ता ब्राण्डले पनि उसको ब्याट्री प्रयोग गर्दै आएका छन् । नेटामा त उसले भर्खरै लगानी नै सुरक्षित गरिसकेको छ ।
कम्पनीले भर्खरै नयाँ प्लान्ट चीनको ग्वान्जाओ राज्यमा तयार गरेर सञ्चालनमा ल्याइसकेको छ । करिब एक वर्ग किलोमिटरमा फैलिएको उक्त प्लान्ट निकै ठूलो र आधुनिक मानिन्छ ।
शेयर मूल्यमा उच्च वृद्धि
ब्याट्री उत्पादक कम्पनीहरुमध्ये सीएटीएलले मात्रै ४३.९१ प्रतिशत शेयर बजार ओगटेको छ । उता चीनकै अर्को ब्याट्री उत्पादन कम्पनी बीवाइडीको बजार मूल्य भने घट्दै गइरहेको छ । बीवाइडीको शेयर बजारमा मूल्य २२.७३ प्रतिशत पुगेको छ । गएको अक्टोबरबाट नोभेम्बरमा सीएटीएलको शेयर बजार १.१ प्रतिशतले बढेर ४३.९१ पुगेको हो भने उता बीवाइडीको बजार मूल्य घटेको छ । उसको शेयर बजारको मूल्यमा एक महिनामा ३.५ प्रतिशत घटेको हो ।
नोभेम्बरमा मात्रै चीनमा ४४ दशमलव ९ गिगावाट प्रतिघण्टा ब्याट्री ‘इन्स्टलेसन’ भएको छ । त्यसमा अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशत वृद्धि भएको छ भने अघिल्लो महिना अक्टोबरको तुलनामा १४.५ प्रतिशत वृद्धि भएको छ । त्यसमा पनि सीएटीएलले मात्रै नोभेम्बर महिनामा १७.९ गिगावाट ब्याट्रीको पावर थप गरेको छ । अहिले विश्वमै सीएटीएल ब्याट्री उत्पादक कम्पनीमा पहिलो नम्बरमा रहेको छ ।
अक्टोबरमा ४२.८१ प्रतिशत शेयर ओगटेको सीएटीएलले नोभेम्बरमा १.१ प्रतिशत वृद्धि गरी ४३.८२ प्रतिशत पु¥याएको हो । विश्वमा ब्याट्री उत्पादनमा दोस्रो स्थानमा रहेको बीवाइडी ब्याट्री उत्पादन कम्पनीले भने नोभेम्बरमा १०.२ गिगावाट क्षमताको ब्याट्री थप गर्न सफल भएको छ । उसले शेयर बजारमा २२.७३ प्रतिशत कब्जा गर्न सफल भएको छ । अघिल्लो महिनामा भने उसको शेयर बजार २६.२३ प्रतिशत रहेको थियो तर एक महिनाको अवधिमा ३.५ प्रतिशत घटेर २२.७३ पुगेको हो ।
त्यसो त बीवाडीको बजारमा शेयर गएको जनावरी र फेब्रअरीमा ३४ प्रतिशत रहेको थियो । मार्चदेखि बीवाडी ब्याट्रीको शेयर मूल्य ३० प्रतिशतभन्दा कम हुँदै गएको छ । जीएएलबीएल ब्याट्री उत्पादक कम्पनी विश्व बजारमा तेस्रो स्थानमा रहेको छ । उसको शेयर बजार ७.२१ प्रतिशत रहेको छ । चौथोमा गोसन हाइटेक ब्याट्री कम्पनी रहेको छ । चौथो स्थानमा रहेको यसको शेयर बजारमा ४.७ प्रतिशत मूल्य रहेको छ ।
पाँचौ स्थानमा इभ ब्याट्री कम्पनीले स्थान सुरक्षित गरेको छ । उसको बजारमा ४.५६ प्रतिशत शेयर रहेको छ । पछिल्लो समय विद्युतीय सवारीसाधनको उत्पादन र प्रयोग बढेसँगै ब्याट्री उत्पादन गर्ने कम्पनीहरुले राम्रो कमाई गरिरहेका छन् । धेरै ब्याट्री कम्पनीहरुले नयाँ नयाँ प्रविधि ल्याएर क्षमतावान ब्याट्रीहरु निर्माण गरिरहेका छन् ।
टेरनरी लिथिएम र लिथिएम आइरन फसफेट दुबै प्रकारका ब्याट्री उत्पादनमा सीएटीएलले बीवाडीलाई जित्न सफल भएको छ । लिथिएम आइरन फसफेट ब्याट्री तौल बढी भएको र धेरै तापक्रम सहन सक्ने ब्याट्री हो भने टेरनरी लिथिएम हलुंगो र तापक्रम कम सहन सक्ने ब्याट्री हुन । दुवै तिरको उत्पादनमा सीएटीएलको ब्याट्रीको शेयर बजार क्षमता बढेको छ ।
सीएटीएलले २०२३ को पहिलो ६ महिनामा ९३ गिगावाट प्रतिघण्टा उत्पादन गरकोमा यो वर्षको अन्त्यसम्ममा प्रतिघण्टा २०० गिगावाट आवर ब्याट्री उत्पादन र सप्लाई गर्न सक्षम हुने दावी गरेको छ ।

अर्थ सन्जाल