


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरू मिटरब्याजी भएको आरोप लगाएका छन् । चितवन काठमाडौं प्रजातान्त्रिक संगमको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरू भएको बताए ।
नेता काेइरालाले भने, ‘ब्यांकर्सहरू मसँग अलिकति रिसाउनु पनि भएको छ । मैले त भन्ने गर्याछु आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरू भए ।’
देश आर्थिक रुपले अप्ठेरो परिस्थितिमा रहेको तर त्यसबाट बैंक प्रभावित भएको नदेखिएको उनले बताए । ‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ, आर्थिक कुरा गर्दाखेरि,’ डा. कोइरालाले भने, ‘तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो ?’
सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरूले नदिने गरेको आरोप उनले लगाए । ‘तपाईंहरु जानुस्, चिनजान छ भने दिइहाल्छ बैंकले नत्र दिँदैन,’ उनले भने, ‘१०/२० लाख, ५० लाख लोन लिन जानुस् दिँदैन बैंकले । तर एउटा अरबपतिले म कृषिमा लगानी गर्छु भनेर गयो भने तुरुन्तै दिन्छ ।’

अर्थ सन्जाल