काठमाडौं । हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याज बाहेक अन्य शुल्क तथा दस्तुर लिन नपाउने भएका छन् । राष्ट्र बैंकले सोमबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन, २०८०) जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
यस्तै पेनाल ब्याजमा ब्याज लिन नपाउने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ । ‘कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको सावाँ रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न पाइने छैन ।’
त्यसैगरी, हायर पर्चेज कम्पनीलाई कर्जा प्रवाह गर्दा ऋणीबाट अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिन निर्देशन दिएको छ । तर २५ लाख वा सो भन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट स्थायी लेखा नम्बर लिन अनिवार्य हुनेछैन ।
हायर पर्चेज कर्जा दिने कम्पनीले नामको पछाडि हायर पर्चेज कम्पनी अनिवार्य राख्नुपर्ने भएको छ । प्राइभेट लिमिटेड वा लिमिटेड कम्पनी जुनसुकै भएपनि हायर पर्चेज अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने भएको हो ।
यस्तै हायर पर्चेज कम्पनीको कार्यकारी प्रमुख वा प्रबन्ध सञ्चालकको शैक्षिक योग्यता स्नातक गरेको हुनुपर्ने छ ।
हायर कम्पनीमा पनि प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भई नसकेको अवस्थामा सञ्चालक/प्रबन्ध सञ्चालक/कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।
आफ्नो पूर्व कारोबारमा राष्ट्र बैंकबाट निलम्बन गरिएको, राष्ट्र बैंकबाट भएको अनुसन्धानमा शंकास्पद कारोबारमा संलग्न भनी किटान गरिएको र त्यस्तो निलम्बनबाट फुकुवा भएको पाँच वर्ष नपुगेको तथा त्यस्तो शंकास्पद कारोबारको संलग्नताबाट सफाइ नपाएको व्यक्ति समेत हायर पर्चेज कम्पनीको सञ्चालक वा कार्यकारी प्रमुख हुन नपाउने भएका हुन् ।
यस बैंकले हायर पर्चेज कर्जा दिन दिएको स्वीकृति प्रत्येक दुई आर्थिक वर्षमा आर्थिक वर्ष समाप्त भएपछिको साउन मसान्तसम्ममा नवीकरण गरी सक्नु पर्नेछ । नवीकरणको लागि रु. २ लाख दस्तुर यस बैंकमा जम्मा गरेको सक्कल भौचर सहित म्यादभित्र अनुसूची ३ बमोजिमको ढाँचामा अनुसूची ४ बमोजिमको कागजात संलग्न गरी निवेदन दिनुपर्नेछ ।
बुँदा नं. (क) बमोजिमको अवधिभित्र नविकरण हुन नसकेमा लाग्ने दस्तुरमा १० प्रतिशत थप गरी भदौ मसान्तसम्म र २० प्रतिशत थप गरी असोज मसान्तसम्ममा नवीकरण गर्न सकिनेछ ।
तत्पश्चात पनि नवीकरणको लागि निवेदन नदिएमा यस बैंकबाट हायर पर्चेज कर्जा कारोवार गर्न दिएको स्वीकृति स्वतः रद्द हुनेछ । त्यस्तो स्वीकृति एकपटक रद्द भइसकेपछि पुनः सोही कम्पनीलाई स्वीकृति प्रदान गरिने छैन ।
अर्थ सन्जाल