


काठमाडौं । नेपालमै पहिलो पटक बुक बिल्डिङमार्फत् सेयर निष्काशन गरिएको सर्वोत्तम सिमेन्टको आईपीओमा ३६ लाख कित्ता सेयरका लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा ४१ वटा योग्य संस्थागत लगानीकर्तारूले ३६ लाख १९ हजार १९० कित्ता सेयरका लागि आवेदन दिएका हुन् ।
कम्पनीको बोलपत्र सोमबार बिहान नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा खोलिएको थियो। नेप्सेका अनुसार बोलपत्र पेश गरेका संस्थागत लगानीकर्ताहरू मध्ये सबैभन्दा बढी मूल्य प्रतिकित्ता ४०६ रुपैयाँसम्म परेको छ । कुमारी क्यापिटल र कुमारी क्यापिटलले सञ्चालन गरेका म्युचुअल फण्डले सबैभन्दा बढी ४०६ रुपैयाँमा बोलपत्र पेश गरेका छन् ।
कुमारी क्यापिटलले ५ हजार कित्ता, कुमारी इक्विटी फण्डले १५ हजार कित्ता र कुमारी धनवृद्धि योजनाले २० हजार कित्ता सेयरका लागि बोलपत्र पेश गरेका छन् ।
यस्तै, नागरिक लगानी कोषले प्रतिकित्ता ४०५ रुपैयाँमा ४ लाख कित्ता सेयरका लागि बोलपत्र पेश गरेको छ । अधिकांशले ४०१ मा नै बोलपत्र पेश गरेका छन् । यस हिसाबमा ४०१ रुपैयाँ नै कट अफ मूल्य हुने प्रारम्भिक अनुमान गरिएको छ । ४०१ रुपैयाँ कट अफ मूल्य भएमा सर्वसाधारणले ३६१ रुपैयाँमा सेयर पाउने छन् । संस्थागत लगानीकर्तालाई तोकिएको कट अफ मूल्यभन्दा १० प्रतिशत घटाएर सर्वसाधारणलाई गर्नुपर्ने कानूनी व्यवस्था छ ।
कम्पनीले मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरूका लागि जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२।९० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बोलकबोलमार्फत् बिक्री खुला गरेको थियो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयरको बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म तोकिएको थियो ।
बोलपत्रलाई रुजु गर्ने काम भइरहेको र सबै जाँच प्रक्रिया सकिएपछि कट अफ मूल्य तोकिने नेप्सेले बताएको छ । नेप्से स्रोतका अनुसार प्रतिकित्ता ४०१ रुपैयाँ कटअफ मूल्य तोकिने सम्भावना छ ।

अर्थ सन्जाल