


काठमाडौं। जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर कात्तिक १७ मा गएको शक्तिशाली भूकम्पले धेरैलाई घरबार विहीन तुल्याइदियो। चिसो मौसम सुरु हुँदै गर्दा गएको भूकम्पले ठूलो धनजनको क्षतिमात्र गरेर बाचेकाहरूलाई पनि कष्टकर जीवन जिउन बाध्य तुल्यायो।
यतिबेला चिसो नथेग्ने पालमुनि उनीहरू बसिरहेका छन्। भूकम्पपीडितले तत्काल सुरक्षित आवास र स्वास्थ्यसेवा नपाएकाले चिसो खेप्नु परिरहेको गुनासो गरेका छन्।
पहाडको कठ्याङ्ग्रिने चिसोले बेला-बेला जाजरकोट सदरमुकाम खलंगा बासीको मुटु कपाएर जान्छ। त्यो भन्दा बढी उनीहरूलाई बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने भन्ने चिन्ताले बढी मुटु काप्छ।
भूकम्प गए यता चिसोले आठ जनाले ज्यान गुमाइ सकेकाले पनि उनीहरू थप अरुले ज्यान गुमाउन नपरोस् भन्ने चिन्तामा छन्। कात्तिकको चिसोमा पातलो कपडा ओढेर निदाउने प्रयास गरे पनि उनीहरूलाई जाडोले निदाउनै दिन्न।
भूकम्पमा परी मरेका बस्तुभाउ गन्हाउन थालेका छन्। खानेपानीको राम्रो व्यवस्था छैन। ट्वाइलेट भत्किएका छन्। भूकम्पपीडित खुला आकास मुनी बस्नेमात्र होइन, शौच पनि खुला आकासमुनी गर्न बाध्य छन्। यस्ले त्यहाँको वातावरणसमेत प्रदूषित हुँदै गएको छ।
हातमुख जोर्नै मुश्किल भइरहेकाले रुकुम पश्चिम र जाजरकोटका अधिकांश युवा मजदूरीका लागि भारत पस्न थालेका छन्। गाउँमा बालबालिका र वृद्धवृद्धाको संख्यामात्रै बढी रहेकाले पनि त्यहाँ चिन्ता बढेको छ।
भूकम्पमा रुकुम पश्चिम र जाजरकोटका गरी १५४ जनाको मृत्यु भएको छ भने ३६४ जना घाइते छन्। २६ हजार ५५७ घर पूर्ण र ३५ हजार ४५५ घर आंशिक रूपमा भत्किएका छन्।
राज्यले घर बनाइदिने घोषणा गरेको पनि तत्काल त्यो सम्भावना देखिंदैन। चुलो बाल्नै भारत जानुपर्ने परिवारसँग आफैं घर बनाउने हैसियत पनि छैन। यस्तोमा उनीहरू पनि २०७२ सालको भूकम्पकै पीडितले जसरी चुहिने पालमुनि शीत छल्दै रात काट्न विवश हुँदै छन्।
राम्रो खाना र सुरक्षित आवास नपाए बालबालिकाको वृद्धि-विकासमै असर पर्छ। दीर्घरोग रहेका ज्येष्ठ नागरिकलाई चिसोमा निमोनियाको जोखिम उच्च हुन्छ।
नसोचेको कुरा अकस्मात् आइपर्दा मस्तिष्कमा आघात पर्ने र बालबालिकामा पर्ने असर अझ गहिरो हुन सक्ने मनोविद्हरू बताउँछन्।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार जाजरकोट भूकम्पका कारण करीब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित छन्। यो प्रदेशको कुल जनसंख्याको २२ प्रतिशत हो। तीमध्ये पाँच वर्षमुनिका बालबालिका मात्र १९ हजार २९६ र स्तनपान गराइरहेका आमा पाँच हजार ३४३ छन्। भूकम्पमा परेर मृत्यु हुनेमध्ये पनि बालबालिका धेरै छन्। १८ वर्षभन्दा कम उमेरका ९५ जनाले ज्यान गुमाए। तिनमा पाँच वर्षमुनिका २४ जना छन्।
राज्यले पीडितको शारीरिक चोटको उपचार गरिरहे पनि मानसिक स्वास्थ्यलाई ध्यान दिएको देखिन्न।
पालमुनिको सामूहिक बसाइले अर्को महामारी निम्त्याउने जोखिम पनि छ। सबै एकै ठाउँ बस्दा रुघाखोकी, झाडापखाला र हैजा फैलन सक्ने जोखिम रहेको भूकम्पपीडितको गुनासो छ।
जाजरकोटमा यस्ता महामारी यसअघि पनि पटक पटक फैलिसकेका छन्। २०६६ सालमा जीवनजल समेत नपाएर ३०० भन्दा बढीले ज्यान गुमाएका थिए।
गाउँ गाउँमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको अभाव छ। कुनै महामारी फैलिए अर्को जोखिम निम्तिने भएकाले समयमै ध्यान दिन सरोकारवालाहरूको आग्रह छ।
यस्तोमा सरकारले भूकम्प प्रभावितको स्वास्थ्यका लागि आकस्मिक र दीर्घकालीन दुवै खाले व्यवस्था गर्नुपर्ने देखिन्छ।

अर्थ सन्जाल