


काठमाडौं- हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सुरक्षित रहेको पाइएको छ। गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए। इजरायलस्थित नेपाली दूतावासले उनी गाजास्थित हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको हो।
परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दिपक जोशीका अनुसार उनी सुरक्षित रहेको आधिकारिक जानकारी प्राप्त भएको हो। ‘उनी सुरक्षित रहेको आधिकारिक जानकारी आएको छ। अब उद्धारको लागि सरकारले थप सक्रियता देखाएको छ,’ उनले भने।
सुरक्षित रहेका जोशीलाई छुटाउनको लागि पहल भइरहेको उनले बताए। उनको सकुशल उद्धारको माग गर्दै केही दिन अगाडि उनका आमाबुबाले परराष्ट्र मन्त्री साउदसँग भेट गरेका थिए।
उता इजरायली सेनाले पनि नेपालीलाई अपहरण गरी शिफा अस्पताल लगिएको भिडियो सार्वजनिक गरेको छ। इजरायल डिफेन्स फोर्स (आईडिएफ)ले गएराती ट्विटरमार्फत भिडियो सार्वजनिक गर्दै यो जानकारी दिएको हो।
‘यो नरसंहारको दिन २०२३ अक्टोबर ७ को शिफा अस्पतालको कागजात हो, जुन बिहान १०:४२ बजे र ११:०१ बजेको बीचमा इजरायली क्षेत्रबाट अपहरण गरिएका नेपाली नागरिक र एक थाई नागरिकलाई देखाइएको छ, सशस्त्र हमास आतंकवादीहरूले घेरेको छ,’ भिडियो सार्वजनिक गर्दै आइडीएफले भनेको छ।
इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए। असोज २० गतेकाे उक्त आक्रमणका बेला जोशीलाई हमासले बन्धक बनाएर लगेको बताइएको थियो।

अर्थ सन्जाल