


काठमाडौं । बाँकेको जानकी गाउँपालिका-४ मा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ ।
बाँकेको कोहलपुर नगरपालिका–११ का ३० वर्षीय आकाश रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । रानाको खुट्टामा एक राउण्ड गोली लागेको र उनी खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कार्तिक ३० मा बिहान कोहलपुर स्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए । सोही क्रममा जानकी गाउँपालिकामा लुकेर बसेको सूचना पाएपछि प्रहरी उनलाई नियन्त्रणमा लिन पुगेको थियो । उनी भागेपछि प्रहरीले एक राउण्ड गोली चलाएको हो ।
रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागी भारतको लखनउमा पठाइएको छ ।
‘उसलाई पक्राउ गर्न लखेट्ने क्रममा गोली चलाउनु परेको हो,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
कार्तिक २८ मा कोहलपुर नगरपालिका–११ मा आकाश रानाले करणी प्रयास गरेको आरोप छ । उनी लागु औषध मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । २०७४ देखी ०७९ सम्म राना नेपालगन्ज कारागारमा थुनामा बसेका थिए ।

अर्थ सन्जाल