


काठमाडौं । नेपाल चलचित्र निर्माता संघले सबै भाषाका फिल्मको प्रदर्शन रोकेर चरणबद्ध आन्दोलनमा होमिने चेतावनी दिएको छ ।
महासचिव सुनिल कुमार थापाले बिहीबार विज्ञप्ति जारी गर्दै प्रदर्शकहरूको साझा संगठन नेपाल चलचित्र संघलाई वार्ताको लागि आह्वान गरेका छन् । अन्यथा नेपाली चलचित्र निर्माताको अस्तित्व रक्षार्थ नेपाली र विदेशी लगायतको कुनै पनि भाषाका सिनेमाहरुको प्रदर्शन गर्न नदिने उनको चेतावनी छ ।
विज्ञप्तीमा भनिएको छ–‘दिमाग खराबले गरेको निर्णयप्रति ऐक्यवद्धता जनाउँदै यो प्रक्रियाको सिलसिला हिजो देखि कै हो । यस्तो हेपाहा प्रवृत्तीलाई अन्त्य गर्नका लागि अन्तिम लडाई लड्नुपर्ने समय आइसकेको छ । र निर्माता संघले उठाएका मुद्दामा सहमतीमा आउन प्रदर्शकहरुको साझा संगठन नेपाल चलचित्र संघलाई वार्ताका लागि आह्वान गर्दछौं । अन्यथा, नेपाली फिल्म निर्माताको अस्तित्व रक्षार्थ नेपाली र विदेशी लगाएका कुनै पनि भाषाका फिल्महरुको प्रदर्शन गर्न नदिई, कडा रुपमा प्रस्तुत भई चरणबद्ध आन्दोलन अन्तिम लडाइमा होमिने प्रष्ट पार्न चाहन्छौं ।’
संघले सम्मानजनक व्यवसायीक अधिकारको सुनिश्चितताका लागि चलचित्र प्रदर्शकहरूसँग कयौँ लडाइँ लडिनुका साथै सहमति र सम्झौताहरू गरिए पनि सधैँ अनुदार व्यवहार भएको दाबी गरेको छ ।
नेपाली फिल्मलाई सधैँ अन्यायपूर्ण व्यवहार गर्ने गरेको भन्दै बुधवार दिमाग खराबको निर्माण पक्षले प्रदर्शन स्थगित गर्ने निर्णय गरेको थियो ।

अर्थ सन्जाल