


काठमाडौं । मारवाडी सेवा समिति नेपालले एसियन गेम्स-२०२३ मा उत्कष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरेको छ । समितिले शुभ दिपावलीको अवसरमा आज (सोमबार) आयोजित दिपावली स्नेह मिलन समारोह – २०८० कार्यक्रममा खेलाडीहरुलाई जनही एक लाख एक हजार नगदसहित सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो ।
१९औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ नेपाली खेलाडीहरुले एउटै म्याचमा अति नै दुर्लभ ५ वटा विश्व किर्तिमान बनाई विश्व सामु नेपाल र नेपालीको शिर उच्च पार्न सफल भएका थिए । सो क्रिकेट म्याचमा ९ बलमा अर्ध शतक बनाई विश्व किर्तिमान बनाउन सफल दिपेन्द्र सिंह ऐरी र ३४ बलमा शतक बनाई विश्व किर्तिमान बनाउन सफल कुशल मल्ललाई हौसला एवं सम्मान स्वरुप जनही एक लाख एक हजार नगदसहित सम्मान पत्र प्रदान गरी सम्मान गरिएको हो ।
समितिले कराँते खेलतर्फ नेपाललाई रजत पदक दिलाई नेपालीको शिर उच्च पार्नमा सफल भएकी एरिका गुरुङलाई पनि एक लाख एक हजार नगदसहित सम्मान पत्र प्रदान गरी सम्मान गरिएको छ । कार्यक्रममा नेपाल क्रिकेट एशोसियनत र क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरुलाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरिएको छ ।
सोही अवसरमा मारवाडी समाजका सदस्यहरु एबं नेपाल राष्टिय क्रिकेट टिमका पूर्व कप्तान पवन अग्रवाल र पूर्व क्रिकेटर पारस लुनियालाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरिएको छ । मारवाडी सम्मान कार्यक्रमको संचालन मारवाडी युवा मञ्चका महासचिव प्रकाश कुमार किजरीवालले गरेका थिए ।
मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले आगन्तुकहरुको स्वागत गर्नु हुँदै शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व २०८० को शुभकामना दिए । उनले आफ्नो शुभकामना मन्तव्यको क्रममा मारवाडी सेवा समिति नेपालले सामाजिक, राजनैतिक, धार्मिक शैक्षिक, साँस्कृतिक, आर्थिक एवं प्राकृतिक आपत विपत आदिमा पुर्याउँदै आइरहेको सेवा कार्य बारे उल्लेख गर्दै जाजरकोट र पश्चिम रुकुममा केहि दिनअघि गएको विनाशकारी भूकम्पमा परी ठूलो जनधनको क्षती भएकोमा त्यस क्षेत्रमा मारवाडी सेवा समिति नेपालको तर्फबाट राहत पठाउने कार्य भइरहेको र पहिलो चरणमा फाइबरको सिरक ८३५ थान, पि. फम मेट ९०० थान र दाल १ केजी र नुन १ केजी राखेर प्याक गरिएको ४०० प्याकेट चामल हस्तान्तरण गरिएको जानकारी गराए।
मारवाडी सेवा समिति नेपालले हरेक वाष उत्सव एवं समारोहहरुमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्नेहरुलाई सम्मान गर्दै आइरहेको छ ।
कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, मारवाडी महिला मञ्चकी अध्यक्ष अर्चना काबरा, मारवाडी युवा मंचका अध्यक्ष शैलेन्द्र शर्माले शुभकामना दिएका थिए ।

अर्थ सन्जाल