


काठमाडौं। यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरेको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो ।
तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो । लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो ।
देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो ।
यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो ।
जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन क्षमता भएता पनि प्राधिकरकणले पिक समयमा १६ मेगावाटमा मात्र चलाएको थियो ।
प्राधिकरणका स्वामित्वका अन्य विद्युत्गृहहरुबाट ४२० मेगावाट, माथिल्लो तामाकोशी, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत्गृहहरुबाट ५२२ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरुबाट ९९७ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो ।

अर्थ सन्जाल