ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

ग्लोबल आइएमई बैंकले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँ बजारमा गरी ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यी ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६० पुगेको जनाइएको छ । बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका– ७, पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका– २, सरदेवा र मोरङ जिल्लाको कटहरी गाउँपालिका– ४, नयाँ बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

पञ्चमी बजारमा खोलिएको सेवाको लागि उमाकान्त खनाल, सरदेवामा खोलिएको सेवाको लागि विमला टण्डन र नयाँ बजारमा खोलिएको सेवाको लागि दीपेन्द्र कुमार सरदारलाई प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले उल्लेखित स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बताएको छ ।

बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गमा सेवा प्रदान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *