काठमाडौं। वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा. ओम मूर्तिले असोज १२ गते शुक्रबार आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी निरन्तरकाे सबैभन्दा लामाे जनचेतनामूलक लाइभ प्रस्तुति गरेका थिए । उनले गरेकाे लाइभले विश्व रेकर्ड कायम गरेकाे हाे।
फेसबुक लाइभमा कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक भन्ने शीर्षकमा डा. मूर्तिले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका हुन्। असोज १२ गते साँझ ७:१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ जनाले एकैपटक प्रत्यक्ष हेरेका थिए। आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा नेपाली नागरिकहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए।
डा. अनिलको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले सेयर गरेका थिए। त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए। फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले उक्त प्रस्तुति हेरेका थिए। लाइभ प्रस्तुतिपछि गिनिज वर्ल्ड रेकर्डका सम्पूर्ण मापदण्ड पूरा गरी डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेस गरेका हुन्। यद्यपि डा. अनिललाई गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गर्न भने केही समय लागेको थियो।
यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेको बताइएकाे छ। डा. अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि हरेक शनिबार फेसबुकमार्फत् जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका व्यक्ति हुन्।
त्यसोत डा. अनिलको यो दोस्रो वर्ल्ड रेकर्ड हो। पहिलो रेकर्ड उनले सन् २०१३-१४ मा इमेज एफएम १०३.६ मेगाहर्जबाट अतिथि वक्ताको रूपमा लगातार ४४ हप्ताको एपिसोड गरेर पाएका थिए। उक्त कार्यक्रम मुटुरोगको बारेमा सचेतना फैलाउने उदेश्यले सञ्चालन गरिएको थियो।
अर्थ सन्जाल