


काठमाडौं । लाभांश घोषणाको सूचना लुकाएपछि धौलागिरी लघुवित्त वित्तीय संस्थालाई नेप्सेले स्पष्टिकरण साेधेकाे छ । करिब २४ घण्टा लाभांस घाेषणाकाे सूचना लुकाएपछि नेप्सेले कम्पनीको कारोबार समेत रोक्का गरेको छ ।
२२ कात्तिकमा बसेको धौलागिरीको सञ्चालक समिति बैठकले कुल १५ प्रतिशत लाभांश घोषणा गरे पनि २३ गते बजार बन्द भएपछि मात्रै नेप्सेलाई सूचना पठाएर सार्वजनिक गरिएको थियो ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।
तर, यो कम्पनीले भोलिपल्टको कारोबार सम्पन्न भएपछि मात्रै नेप्सेमा जानकारी गराएकाले सञ्चालकहरुको नियतमाथि प्रश्नचिन्ह उठेको छ । लाभांश घोषणापछि सेयरको मूल्यमा प्रभाव पार्ने वा अनुकूल कारोबार गर्ने नियतले ढिला सूचना सार्वजनिक गरिएको हुन सक्ने शंका उब्जाएको छ ।

अर्थ सन्जाल