सहायता कोषमा ६ करोड संकलन, प्रतिबद्धता मात्र धेरै

कोषका अनुसार बुधबारसम्म बुद्ध एयरले १ करोड, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार, मुक्तिनाथ दर्शनले ५ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ करोड, चैतन्य एकेडेमीले एक लाख, मनीष रेग्मीले एक लाख १० हजार, धादिङ कांग्रेसले एक लाख ५१ हजार, कांग्रेस (केन्द्र) ले ५० लाख, कुस्मा नगरपालिकाले ४ लाख ७० हजार, नेपाल एलपीजी ग्यास उद्योग संघले ११ लाख ११ हजार, केएनपी जापानले ५ लाख र अन्यले २ करोड ४ लाख ४७ हजार गरी कुल ५ करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । उल्लिखित रकम कोषमा नगदै जम्मा भएको सहयोग हो । यसबाहेक छिमेकी मुलुक र देशभित्रका विभिन्न संघसंस्थाले पनि आफैं राहत वितरण गरिरहेका छन् । यसरी वितरण भएको राहतको एकीकृत विवरण भने आइसकेको छैन ।

भूकम्प प्रभावितको सहयोगका लागि प्रदेश संरकार, अन्तर्राष्ट्रिय जगत्, निजी संघसंस्था र व्यक्तिले गरी २० करोड हाराहारीमा नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसरी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नगदै जम्मा गर्ने प्रतिबद्धता गर्नेमध्येले पनि हालसम्म जम्मा नगरेकाले बुधबारसम्म करिब ६ करोड रुपैयाँ मात्र जम्मा भएको कोषले जनाएको छ । सहयोगका लागि आह्वान गरेको तीन/चार दिन मात्र भएकाले कोषमा बिस्तारै रकम संकलन भइरहको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले बताए । ‘विभिन्न संघसंस्थाबाट सहयोगको प्रतिबद्धता आइरहेको छ,’ उनले भने, ‘त्यो रकम कोषमा संकलन हुँदै जाला ।’

सरकारले भूकम्पपीडितको राहत एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ । सोही अनुसार आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न नौ वटा वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा सहयोग रकम पठाउन सबैमा आग्रह गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता रहेका बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक पुतलीसडक, कृषि विकास बैंक रामशाहपथ, नेपाल बैंक, एभरेस्ट बैंक नयाँ बानेश्वर, स्ट्याडर्ड चार्टर्ड बैंक नेपाल लाजिम्पाट, ग्लोबल आईएमई बैंक ज्ञानेश्वर, हिमालयन बैंक ठमेल र कमलादी, नबिल बैंक दरबारमार्ग रहेका छन् ।

नेपाल प्रहरीले पीडितलाई राहत दिने नाममा जोसुकैले पनि राहत संकलनको स्क्याम गर्न सक्ने भन्दै त्यस्ता व्यक्ति र संस्थाहरूबाट सावधान रहन आग्रह गरेको छ । जाजरकोट भूकम्पपछि पीडितहरूलाई राहतका लागि घोषणा गर्ने क्रम सुरु भइसकेको छ भने सरकारले राहत वितरणलाई एकद्वार प्रणालीबाट गर्ने निर्णय गरिसकेको छ । प्रहरीले राहत संकलन गर्ने व्यक्ति वा संस्था आधिकारिक हुन् वा होइनन् भनेर निश्चित भएपछि मात्रै रकम उपलब्ध

गराउन आग्रह गरेको हो । ‘भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघसंस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला । इन्टरनेट स्क्यामर वा एक्सप्लोइटरहरूबाट सावधान रहन अनुरोध छ,’ प्रहरीले भनेको छ ।

बैंक तथा वित्तीय संस्थाको सहयोग

जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट प्रभावितको तत्काल उद्धार, राहत तथा पीडितहरूको पुनःस्थापनामा सहयोग गर्न सूर्य नेपालले १ करोड ४० लाख सहयोग गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक रवि रायवरम, भाइस प्रेसिडेन्ट रवि केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रबन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने गरी चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीले थप ३५ लाख बराबरको खाद्यान्न, ब्लांकेटलगायत बन्दोबस्तीका सामग्री पठाइसकेको जनाएको छ । प्रभावित क्षेत्रतर्फ जाने वीर अस्पतालको टोलीलाई ५ लाख रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरिसकेको सूर्य नेपालले जनाएको छ । गोर्खा ब्रुअरीले सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री दाहाललाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

एभरेस्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्पबाट प्रभावितका लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा पठाएको छ । उक्त रकमबाट भूकम्प प्रभावितको राहत र उद्धारमा थोरै भए पनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले भूकम्प प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितको राहतका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख सहयोग गर्ने निर्णय गरेको हो । यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्घार कोषमा जम्मा गर्ने जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले हालसम्म करिब २२ लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।

महासंघ कर्णाली च्याप्टरमार्फत कात्तिक १७ मा पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरिएको थियो । त्यसपछि कर्णाली च्याप्टरमार्फत नै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा दोस्रो चरणको राहत सामग्री हस्तान्तरण गरिएको थियो । महासंघले काठमाडौंमा गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिमार्फत कात्तिक २२ मा तेस्रो चरणको राहत सामग्री हस्तान्तरण गरेको हो । महासंघले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधि, पानीसहितका सामग्री प्रभावित क्षेत्रमा पठाइरहेको छ । महालक्ष्मी विकास बैंकले भूकम्पपीडितको सहायताका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग रकम दिएको हो । महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थ मन्त्री प्रकाशशरण महतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।  यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *