भूकम्पपीडितकाे राहतमा जनार्दन शर्माको संवेदनहीन राजनीति, बाटोबाटै ‘गायब’ पारे ट्रक

काठमाडाैं । रुकुम पश्चिम र जाजरकोट — शुक्रबार मध्यराति गएको भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक बाटोमा सल्यानबाट ‘गायब’ भयो । यो सामान खोजबिन हुँदै थियो, तर बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गर्न थालिएपछि ट्रक नै उता लगिएको खुल्यो ।

माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त ट्रक बाटोबाटै कब्जा गरी रुट फेरिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

भूकम्पपीडित रुकुम पश्चिममा पनि छन्, जाजरकोटमा पनि । सार्वजनिक योगदानमा संकलित राहत पीडितको आवश्यकताका आधारमा वितरण हुनुपर्नेमा राजनीतिक पहुँच देखाउन उपयोग गरिएको आरोप छ । भूकम्पबाट सबैभन्दा बढी क्षति बेहोरेको जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘हाइज्याक’ गरेर रुकुम पश्चिमतिर लगिएको बताएका छन् ।

‘राहत वितरणमा सत्ताको दुरुपयोग भइरहेको छ । पीडितलाई आवश्यकताका आधारमा होइन, आफ्नो मतदाता पहिचान गर्दै राहत वितरण भइरहेको छ । जाजरकोटमै पनि भेरीमा क्षति ठूलो हुँदा राहत कम आएको छ, उता नलगाडमा क्षति कम भए पनि धेरै सामग्री पुर्‍याइएको छ ।’

जहाँका भए पनि पीडितले राहत पाउने कुरामा आफ्नो कुनै गुनासो नरहे पनि अघिपछिको राजनीतिक प्रतिशोध साधेर भूकम्पपीडितलाई थप आहत बनाउने काम भएको घर्तीको आरोप छ । ‘सरकारी राहत पारदर्शी रूपमा अभिलिखित गरेर वितरण गर्नुपर्ने हो, राहत सबैले न्यायोचित पाउनुपर्ने हो । तर लुकाएर रातिराति बाँडिएको छ,’ उनले भने । दल विशेषका नेताले राहतमा मनपरी गरेपछि भेरी नगरपालिकाले पनि एकद्वार प्रणालीबाहेक आफ्नै विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाएको छ ।

बुधबार पनि जाजरकोटका लागि ‘गिफ्ट एसिया’ लगायतका संस्थाले पठाएको एक ट्रक खाद्यान्न रुकुम पश्चिमतर्फ मोडिएको छ । ‘जाजरकोटका पीडितले पर्याप्त कम्बल पनि पाएका छैनन्,’ भेरी नगरपालिका निवासी शुक्र शर्माले भने, ‘यहाँ आएको राहत पनि राजनीतिक दबाबमा उता लगिन्छ ।’

भूकम्प बढी प्रभावित भएको जाजरकोट सदरमुकाम खलंगासहित भेरी नगरपालिकाका धेरै वडाका सबैजसो कच्ची घर भत्किएका छन् । भूकम्प गएको ६ दिन पुग्दासम्म जाजरकोटको खुल्चाउली, कड्के, टट्टा, करुवा, कुशेको समाइला धन्नासीलगायत प्रभावित क्षेत्रमा त्रिपाल, कम्बल, खाद्यान्नलगायत सामान पुगेका छैनन् । सर्वसाधारण बारीमा कठ्यांग्रिएर रात बिताउन बाध्य छन् ।

१३ वडा रहेको भेरीमा ३५ सय ३४ घरधुरीका १४ हजार ९ सय ९७ जना विस्थापित छन् । तर, अहिलेसम्म २८ सय ५५ त्रिपाल र ३९ सय ३० ब्ल्यांकेट उपलब्ध गराइएको छ । एउटा परिवारका चार जनाले एउटा ब्ल्यांकेट ओढेर सुत्नुपरेको पीडितहरूको गुनासो छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *