निर्जीवन बीमा कम्पनीको व्यवसायमा गिरावट, तीन महिनामा करिब १० अर्ब प्रिमियम ‘कलेक्सन’

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना (त्रैमास)मा निर्जीवन बीमा कम्पनीहरुले करिब साढे १० अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र दुई निर्जीवन लघु बीमा कम्पनीले १० अर्ब ४४ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेका हुन् ।

गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । निर्जीवन बीमा कम्पनीहरु प्रिमियम कलेक्सन ३९ करोड ७९ लाख रुपैयाँ अर्थात् ३.६६ प्रतिशतले घटेको छ ।

जसमा १४ वटा निर्जीवन बीमा कम्पनीले १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ र साथै दुई निर्जीवन लघु बीमा कम्पनीले ९१ लाख ८९ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

असोज मसान्तसम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीले पहिलो त्रैमाससम्म १ अर्ब ३१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

त्यस्तै निर्जीवन बीमा व्यवसायमा उल्लेख्य प्रगति गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६ करोड रुपैयाँ प्रिमियम भित्र्याएको छ । शिखर इन्स्योरेन्सले सो अवधिसम्ममा १ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यसैगरी, गत आर्थिक वर्षको तुलनामा ६ वटा कम्पनीको व्यापारमा संकुचन आएको छ भने बाँकी ८ वटा कम्पनीको व्यवसायमा भने सुधार देखिएको छ ।

बृद्धिदरको आधारमा सबै भन्दा व्यापार बृद्धि गर्ने कम्पनीमा भने प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीले गत वर्षको तुलनामा आफ्नो बिजनेस ३७.०३ प्रतिशतले बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *