काठमाडाैं । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न नसकेपछि अलपत्र अवस्थामा रहेको चितवनस्थित गौतम बुद्ध त्रिकेट रंगशाला वाग्मती प्रदेश सरकारले बनाउने भएकाे छ । मंगलबार हेटौंडामा प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच भएको बैठकमा रंगशाला निर्माणका लागि आवश्यक लगानी वागमती प्रदेश सरकारले गर्ने सहमति भएको हो ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित भरतपुर महानगरका मेयर रेणु दाहालको उपस्थितिमा भएको निर्णय अनुसार रंगशाला निर्माणका लागि प्रदेशले ७० र महानगरले ३० प्रतिशत लगानी गर्नेछन् । बैठकले यसअघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने र केही दिनभित्र ठेक्का आव्हान गरी रंगशाला निर्माणको काम अघि बढाउने सहमति गरेकाे छ ।
महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्ताव अनुसार काम सुरु गरिने जनाइएकाे छ । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय गरेकाे छ । यस कार्यका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्नेछ ।