


काठमाडौं । यस वर्ष तिहार ढिला भएकोले भक्तपुरको गुन्डुस्थित फूलका बगैँचा लगभग रित्तिएका छन् । हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहार आउन पाँच दिन बाँकी छ । पर्व तिहार नजिकिंदै गर्दा बगैँचाका फूल टिपेर माला उन्ने र बजार पठाउन कृषकलाई भ्याइनभ्याइ छ ।
अधिकांश कृषकले यसपटक मखमली टिपेर पनि बजार पठाइसकेका छन् । तिहार ढिला हुँदा यसपटक उनीहरुले दशैँलगत्तै फूल र माला बजार पठाएका हुन् । विगत वर्षझैं यसवर्ष पनि गुन्डुका किसानहरूले सयपत्री, गोदावरी र मखमली फूल खेती गरेका छन्।
तर तिहार नआउँदै मखमली फूल भने लगभग रित्तिएका छन् । तिहारमा देशविदेशबाट फूलको माग हुन्छ । मखमली फूल नओइल्याउने हुँदा साउन भदौदेखि नै निर्यात गर्ने गरिएको कृषकहरु बताउँछन् । मखमली फूल भाइटिकाको दिन मालाको लागि प्रयोग हुन्छ ।
अब बाँकी रहेको फूल काठमाडौं उपत्यकामा पठाइने उनीहरु बताउँछन् । सयपत्री फूलभने ओइल्याउने हुँदा तिहार सुरु भएपछि मात्र टिपेर बेचिन्छ । यहाँ हरेक खेतका आली सयपत्री फूलले ढकमक्क छन् । सयपत्री र गोदावरी भने पूजादेखी मालासम्मको लागि प्रयोग गरिन्छ ।
तस्बिर : तेज किराँती

अर्थ सन्जाल