काठमाडौं । मालपोत कार्यालय पर्सामा जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपियाँ राजस्व सरकारी खातामा दाखिला नगरी पाँच जना मालपोत अधिकृतहरुले आफै हिनामिना गरेको पाइएको छ ।
पाँचजना मालपोत अधिकृतहरुले एकै किसिमबाट रकम हिनामिना गरेको हो । आर्थिक वर्ष २०७१/०७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको पाइएको हो ।
अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले उक्त कार्यमा संलग्न तत्कालीन मालपोत अधिकृहरु क्रमशः हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपालबहादुर ढुगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारीसहित कम्प्युटर अधिकृत कमोद तिवारी र नायब सुब्बा किरण प्रसाद उपाध्यायविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मिश्रले २०७१/७२ मा मालपोत कार्यालय, पर्साको फाँट ‘ग’ को एकै रजिस्ट्रेसन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको थियो । सोमध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिष्ट्रेशन लिखत दर्ता किताबमा प्रविष्टि गरी किताबमा प्रमाणित गर्नुपर्नेमा रजिस्ट्रेसन दर्ता किताब प्रमाणित नगरी आफनै खातामा जम्मा गरेको आयोगको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
मिश्रको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलन भएको दुई करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ राजस्व चुहावट भएको आयोगले जनाएको छ । उनी विरुद्ध बिगो कायम हुन गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा ७ बमोजिम राजस्व हिनामिना भएको रकमको दोब्बर जरिवानाको माग दाबी लिइएको आयोगका प्रवक्ता थपलियाले बताए ।
कसले कति हिनामिना गरे ?
किरणप्रसाद उपाध्याय ५ करोड ५५ लाख १९ हजार ९ सय ७५
हरिनारायण मिश्र २ करोड ९ लाख ३१ हजार ६ सय ४७
भूपबहादुर बोगटी १ करोड ४९ लाख ६९ हजार १ सय ४५
कमोद तिवारी १ करोड ४१ लाख १ सय ७१
गोपालबहादुर ढुगाना ३५ लाख ४५ हजार ९ सय ५०
पदमप्रसाद अर्याल १६ लाख ८१ हजार ६ सय
चन्द्रबहादुर भण्डारी २ लाख ४४ हजार ४ सय ६२
यो समाचार आजको नेपाल समाचारपत्र प्रकाशित छ ।