काठमाडौं । ‘चेक बाउन्स’ मुद्दामा भाष्करराज राजकर्णिकारको नाममा दर्ता रहेको एभिन्यूज टेलिभिजन र फुड प्रोजेक्ट प्रा.लि.को सेयर रोक्का भएको छ । राजकर्णिकारले खरिद गरेको जग्गाको भुक्तानीबापत दिएको चेक बाउन्स भएपछि त्यसविरुद्ध परेको मुद्दामा काठमाडौं जिल्ला अदालतले बाउन्स भएको चेकमा उल्लेखित रकम बराबरको २० लाख कित्ता सेयर रोक्का गरिदिएको हो ।
राजकर्णिकारले दुर्गाबहादुर विश्वकर्माबाट चितवन देबौलीको जग्गा खरिद गरेका थिए । त्यसका लागि उनले विश्वकर्माको नाममा जारी गरेको ५६ लाख रुपैयाँको चेक अनादर भएको भएपछि काठमाडौं अदालतमा मुद्दा दायर भएको हो । चेक अनादर भएपछि पनि राजकर्णिकारलाई जानकारी गराई रकम माग गर्दा तिर्छु भनि आलटाल गरेको, तर लामो समयसम्म पनि रकम भुक्तानी नगरेपछि अदालत गुहार्न बाध्य भएको निवेदक विश्वकर्माको दाबी छ ।
उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले राजकर्णिकारको नाममा दर्ता रहेको दुई कम्पनीको २० लाख कित्ता संस्थापक सेयर रोक्क राखिएको दिएको हो । सेयर रोक्का राख्न गत जेठमा काठमाडौं अदालते कम्पपनी रजिष्ट्ररको कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘निवेदकको माग बमोजिम फिरादपत्रमा उल्लेखति बिगो ५६,००,००० ले खाम्ने सम्मको एभिन्यूज टेलिभिजन प्रा.लि.को सेयर अर्को आदेश वा व्यवस्था नभएसम्मको लागि मुलुकी फैजारी कार्यविधि संहिता २०७४ को दफा १६७ एवं मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियम ९१ (२) बमोजिम रोक्का गरी कोही कसैलाई कह हस्तान्तरण, विक्री वितरणसमेत गर्न नपाउने गरी प्रस्तुत मुद्दाको रोहबाट रोक्का राखिएको छ ।’
उता, एभिन्यूज टेलिभिजनका मालिक राजकर्णिकारले भने आफूले विश्वकर्माबाट खरिद गरेको पूरै जग्गा उपभोग गर्न नपाउने स्थिति बनेपछि भुक्तानी दिन अस्वीकार गरेको जिकिर गरेका छन् । सुरुवमा जग्गा खरिद–बिक्रीको सम्झौता हुँदा आफूले बैनाबापत विश्वकर्मालाई ५६ लाख रुपैयाँको चेक दिएको तर संधियारहरूका कारण उक्त जग्गा भोगचलन गर्न नमिल्ने अवस्था बनेपछि स्वंयले उक्त चेकको भुक्तानी रोक्का गरिदिएको दाबी गरेका छन् ।