काठमाडौं । सोमबार राति ९ बजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अन्ततः मोबाइल फोन दर्ता नभई नेपालभित्र चल्न नसक्ने नियम लागू गर्ने निश्चित भएको हो ।
प्राधिकरणले प्रिमियम तथा महँगा स्मार्टफोनबाट यो प्रणाली कार्यान्वयन गर्न लागेकाे जनाएकाे छ । सुरुवाती चरणमा प्राधिकरणले नेपालमा दर्ता नभई नेपालभित्र सञ्चालनमा रहेका फोनहरू बन्द गर्दैछ । यसमा नेपालमा दर्ताबिना पछिल्लाे समय नेपाली बजारमा आएका फाेनहरु पहिलाे पटक बन्द हुनेछन् ।
प्राधिकरणले आईफोन १५ सिरिजका करिब २५०० स्मार्टफोन एमडीएमएसमा दर्ता नभई नेपालमा सञ्चालनमा रहेको पाइएकाे जनाएकाे छ। भोलि राति ९ बजे पश्चात् ती फोन नेपालभित्र चल्न छोड्ने प्राधिकरणले जनाएकाे छ ।
“सस्ता सहित सबै फोनलाई एकै पटक नेपालभित्र नचल्ने गरी बन्द गर्ने नभई महँगा फोनबाट यसको सुरुवात गर्दै छौं,” अध्यक्ष खनालले अगाडि भने, “आईफोन १५ पछि अन्य फ्ल्यागशिप फोनहरूलाई समेट्छौं ।” प्राधिकरणले यहि ४ कात्तिकमा एक सूचना निकाल्दै एमडीएमएसमा दर्ता नभएका मोबाइल १५ दिनपछि नचल्ने जानकारी गराएको थियो ।
उक्त प्रणालीमा दर्ता नभएका फोनमा दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरणले स्पष्ट पारिसकेको छ । तपाईंको मोबाइल एमडीएमएसमा दर्ता नभए दर्ता गर्न सरकारी कार्यालयमा जानुपर्ने हुन्छ ।