कृषि विकास बैंकको खराब प्रदर्शन : खराब कर्जाले सीमा नाघ्यो, ८८ करोड नोक्सानमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि विकास बैंकले खराब प्रदर्शन गरेको छ । असोज मसान्तसम्म आइपुग्दा बैंक घाटामा रहेको छ भने खराब कर्जाले ५ प्रतिशतको सीमा नाघेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८८ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा २२ करोड ९ लाख रुपैयाँ थियो ।

यस बैंकको खराब कर्जाले नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सीमालाई नाघेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निष्क्रिय कर्जाको अधिकतम सीमा ५ प्रतिशत तोकेको छ । तर बैंकको खराब कर्जाको सीमा ५.३३ प्रतिशत पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा जम्मा २.३८ प्रतिशत थियो ।

यो त्रैमासमा बैंक ९० करोड ८३ लाख रुपैयाँ सञ्चालन घाटामा छ । अघिल्लो वर्ष सञ्चालन मुनाफा २४ करोड ६५ लाख रुपैयाँ रहेको थियो । बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

एनपीएल बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढ्दा बैंक घाटामा गएको देखिन्छ।

बैंकले २ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी १८ अर्ब ८८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ९२ करोड रुपैयाँको उचाइमा पुगेको छ।

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २८.८३ रुपैयाँले ऋणात्मक बनेको छ। अघिल्लो वर्ष ईपीएस ४.२३ रुपैयाँ रहेको थियो। बैंकको प्रतिसेयर नेटवर्थ २०६.१७ रुपैयाँ रहेको छ।

बैंकको आधार दर १०.३८ प्रतिशत छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो दर ९.८३ प्रतिशत पुगेको छ । आधार दर बढ्नु भनेको ऋण लिनेका लागि बैंकको ब्याज बढ्न जानु हो । बैंकको औसत निक्षेप तथा कर्जाको ब्याजदर अन्तर (स्प्रेड दर) ३.८२ प्रतिशत छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *