काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशतले बढेर ४ अर्ब १७ करोड ३९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ३ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।
सञ्चालन मुनाफा ४.६८ प्रतिशत घटेर २ अर्ब १२ करोड ६१ लाख रुपैयाँमा खुम्चिएको छ । बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ११ करोड पुगेसँगै सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा १३ रुपैयाँ ३४ पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २९ पैसा घटेर २१ रुपैयाँ ७२ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.७२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ २७ पैसा रहेको छ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३२ अर्ब रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ४.५४ प्रतिशत बढेको छ भने कर्जा ६.२७ प्रतिशत बढेको छ।