मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, भाग्यशाली १२ हजार आवेदकले मात्र हात पारे सेयर

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८.३० बजे एफपीओ बाँडफाँट गरिएको हो।

संस्थाको एफपीओमा अन्तिम दिनसम्म १३ लाख २१ हजार ५३६ आवेदकबाट कुल १ करोड ४८ लाख ४८ हजार ६० कित्ता सेयर माग भएको थियो।

कुल परेको आवेदनमध्ये १३ लाख २० हजार २०३ आवेदकबाट माग भएको १ करोड ४८ लाख ३१ हजार २८० कित्ता सदर भएको छ भने १ हजार ३३३ आवेदकबाट परेको १६ हजार ७८० कित्ता बदर र रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेकै कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १२ हजार ३८१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाएका छन्।

सदर आवेदकमध्ये १३ लाख ७ हजार ८२२ जनाको हात खाली भएको छ।

मिर्मिरे लघुवित्तले गत असोज २५ गतेदेखि असोज ३० गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।

यो एफपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र एफपीओ निष्काशनकर्ता संस्था र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *