काठमाडौं । सोमबार गोली प्रहार गरी हत्या गरिएका बाराको कलैया उपमहानगरपालिका-६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसन्धान अधिकृतहरुका अनुसार, स्वर्णकार स्कुलका एक जना पूर्वशिक्षिकासँग प्रेम सम्बन्धमा थिए । पूर्व शिक्षिका पनि अर्को व्यक्तिसँग पनि प्रेममा थिइन् । रुपेश विवाहित पुरुष हुन् । उनको एक छोरा र एक छोरी छन् । प्रेमिका भारतीय युवकसँग पनि प्रेम सम्बन्धमा थिइन् ।
सम्बन्धमा खटपट आएपछि प्रेमिका समेतको संलग्नतामा स्वर्णकारको गोली हानी हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रूपेशका पूर्वप्रेमिकासहित ७ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा केही भारतीय नागरिक समेत छन् । सोमबार मध्याह्न साढे १२ बजेतिर स्वर्णकार (गुड्डु) खाजा लिन घरबाट ५ सय मिटरको दूरीमा रहेको रोजबेरी होटलतिर गएका थिए । खाजा लिएर फर्किदै गर्दा स्वर्णकारमाथि गोली प्रहार भएको हो ।
त्यसक्रममा रुपेशलाई कम्तीमा ५ राउण्ड गोली लागेको थियो । गोली लागेलगत्तै उपचारका लागि उनलाई कलैया अस्पताल लगिएको थियो ।
तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
अनुसन्धानमा संलग्न अधिकृतहरुले यसअघि पनि स्वर्णकारमाथि आक्रमणको प्रयास भएको बताएका छन् ।