काठमाडाैं । देशभरिको कुल दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसंख्यामध्ये ७४.४४ प्रतिशतको पहुँच बैंक तथा वित्तीय संस्थासम्म नरहेको सरकारी तथ्यांकले देखाएको छ ।
हालसम्म ७४ लाख नौ हजार एक सय ८१ जना अर्थात् ३५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा पहुँच छ भने एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ पुरुषमध्ये २६.४२ प्रतिशत र कुल एक करोड ४९ लाख ११ हजार २७ महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा एउटा मात्र खाता रहेको तथ्यांकले देखाएको छ । यसैगरी तथ्यांकअनुसार कुल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये ४१ लाख २२ हजार ६ सय ९० अर्थात् ६१.८९ प्रतिशत परिवारका एक जना सदस्यको मात्र बैंक तथा वित्तीय संस्थामा खाता रहेको छ ।
बैंकले जति विज्ञापन गरे पनि अझै ३८ प्रतिशत परिवार र ७४ प्रतिशत व्यक्तिको बैंकसम्म पहुँच नहुनुले सरकार लक्ष्यसम्म पुग्न नसकेको तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेको ठहर छ । १८ वर्ष वा सोभन्दा माथि उमेरका ५.६७ प्रतिशतले मात्र प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका छन् ।
देशभर कुल ६६ लाख ६० हजार आठ सय ४१ घरपरिवारमध्ये आठ लाख ३६ हजार एक सय ३७ अर्थात् १२.५५ प्रतिशत परिवारमा कम्तीमा एक व्यक्तिले प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका छन् भने १८ वर्ष वा सोभन्दा माथिका १० लाख ८१ हजार ६ सय ४६ अर्थात् ५.६७ प्रतिशतले उक्त शिक्षा वा तालिम दिएका छन् ।
यसैगरी कुल परिवारमध्ये २५.५९ प्रतिशत परिवारले मात्र कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिन्छ । ‘प्रदेशअनुसार तथ्यांक विश्लेषण गर्दा त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत देखिन्छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा अर्थात् २१.९६ प्रतिशत देखिन्छ,’ लामिछानेले भने । ‘विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय तथा शिक्षा मन्त्रालयलगायत विभिन्न सम्बन्धित मन्त्रालयलाई अबको तथ्यांकलाई आधार मानेर नयाँ नीति तथा कार्यक्रम तय गर्न ठुलो सहयोग मिल्नेछ,’ उनले भने ।
६० प्रतिशत एकतले घर
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालका ६० प्रतिशत घर एकतले रहेका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा हाल कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एकतले घर रहेको देखाइएको हो । अर्थात् कुल घरहरूमध्ये ४५ लाख १७ हजार दुई सय ७७ घर एक तले रहेको सरकारी तथ्यांक छ ।
दुई सय ५१ वटा घर १० तलाभन्दा बढी तला भएको घर रहेको जनाउँदै विभागका अधिकृत दिनेश लम्सालले २८.७८ प्रतिशत दुईतले, ९.१७ प्रतिशत तीनतले, १.३ प्रतिशत चारतले, ०.६४ प्रतिशत पाँचदेखि साततले र ०.०१ प्रतिशत आठदेखि नौतले घर रहेका छन् । ‘मधेस प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात् ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएका घर वाग्मती प्रदेशमा अर्थात् ३४ प्रतिशत रहेका छन्,’ अधिकृत लम्सालले भने, ‘जनगणना २०७८ मा संकलित घर तथा परिवार सूचीकरण फारामको विवरणको नतिजामा मधेस प्रदेशमा अधिकांश घर एकतले र झोपडी नै रहेको पाइयो ।’
विभागले सार्वजनिक गरेको तथ्यांकले अझै पनि सय वर्ष पुगेका घरको संख्या ०.५ प्रतिशत छ भने सबैभन्दा बढी ० देखि चार वर्ष आयुका घर रहेको तथ्यांकमा छ । घरको आयुलाई १२ वटा वर्षमा विभाजन गरेर तथ्यांक संकलन गरिएको थियो । जसअनुसार कुल ७५ लाख ५२ हजार ६६ घरमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत ० देखि चार वर्षका घर रहेको पाइएको तथ्यांक छ ।
देशभरका कुल ६६ लाख ६० हजार आठ सय ४१ परिवार (संस्थागत परिवारबाहेक) मध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिन्छ भने उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा अर्थात् यो प्रदेशमा २.९८ प्रतिशत रहेको छ ।
लम्सालका अनुसार राष्ट्रिय जनगणनामा अर्थ मन्त्रालयको मागअनुसार घर तथा परिवारसम्बन्धी नयाँ विवरण संकलन गर्न प्रश्नावली तयार गरी नयाँ तथ्यांक संकलन गरिएको थियो । घर तथा परिवार सूचीकरण फारमअन्तर्गत संकलित विवरणमध्ये यस पटक घरको मुख्य प्रयोग, घरको तला, घरको मुख्य प्रयोगअनुसार घरको आयु, सरकारी अनुदान प्राप्त गरी आवासीय घर निर्माण गरेका परिवार, बैंक तथा वित्तीय संस्थामा खाता भएका परिवार, प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका परिवार र बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिएका परिवारसम्बन्धी सूचक समेटी संकलित तथ्यांकको सोमबार नयाँ नतिजा सार्वजनिक गरेको छ । गाउँघरमा अझै पनि गरिबी बढिरहेको देखिन्छ । जसकारण एकतले घर बढी उक्त क्षेत्रमै रहेका छन् ।
कुल ६६, ६०, ८४१ परिवार मध्ये ४१, २२, ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तीमा एक जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको छ । यसैगरी कुल २, ९१, ६४, ५७८ जनसंख्यामध्ये ७४, ०९, १८१ जना अर्थात् २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको देखिन्छ । यसैगरी कुल १, ४२, ५३, ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १, ४९, ११, ०२७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता छ । त्यसैगरी कुल ६६, ६०, ८४१ परिवारमध्ये १२.५५ प्रतिशत परिवारमा कम्तीमा एक जना व्यक्तिले प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका छन् । त्यस्तै कुल ६६, ६०, ८४१ परिवारमध्ये २५.५९ प्रतिशतले बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको, सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत र कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशत छन् ।
७५ लाख ५२ हजार ६६ वटा घरहरूमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एकतले घर रहेका छन् भने दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७ तले, ०.०१ प्रतिशत ८ देखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घर रहेका छन् । मधेस प्रदेशमा एकतले घर सबैभन्दा बढी ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएका घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत छन् । कुल ६६, ६०, ८४१ परिवारमध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ । आजको नागरिक दैनिकमा समाचार छ।