काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले बुक विल्डिङ विधिमार्फत् गरिने सेयर निष्काशनमा सहभागिता जनाउने संस्थागत लगानीकर्तालाई शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरुलाई शुल्क बुझाउन आग्रह गरेको हो ।
बुक विल्डिङ निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकताहरूलाई शिलबन्दी बोलकबोलमार्फत धितोपत्रमा आवेदन दिनका लागि नेप्सेले दर्ता हुन भनेको हो ।
पहिले नै दर्ता भइसकेका संस्थागत लगानीकर्ताले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ भने दर्ता नभएका कम्पनीले दर्ता शुल्क बुझाउनुपर्ने नेप्सेले जनाएको छ । दर्ता शुल्क १० हजार रुपैयाँ र वार्षिक नवीकरण शुल्क ५ हजार रुपैयाँ तोकिएको छ ।
नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ पद्धतिबाट सेयर निष्काशनका लागि अनुमति दिइसकेको छ । सो कम्पनीको सेयर निष्काशनका लागि प्रतिकित्ता ४०१ देखि ६०१ रुपैयाँसम्म रेञ्ज बोर्डले प्रदान गरेको छ ।
बुक बिल्डिङ पद्धतिबाट पहिलो पटक नेपालमा सेयर जारी गर्न लागिएको हो । सर्वोत्तमलाई २४ लाख कित्ता सेयर बुक बिल्डिङ पद्धतिबाट निस्कासन गर्न अनुमति दिइएको छ ।