काठमाडौं। मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीको अाईपीओ आज (शुक्रबार)देखि निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा १४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ कलाख ४० हजार कित्ता आईपीओ बिक्री गर्नेछ।
यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतममा १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
उक्त आईपीओ नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।यो आईपीओको निष्कासन बन्द आउँदो कात्तिक २४ गते बैंकिङ समयपछि हुनेछ।