नाम्लोसँगको नाता १५ वर्ष : ‘अझै जुटेन दशैँमा घर जाने खर्च’

दशैँ नजिकिँदै आएको भएपनि कृष्णको कमाइ घट्दो छ । प्रशस्त खर्च कमाउन नसकेकै कारण उनी यस पटकको दशैँमा घर नजाने सोचमा छन् । ‘काम चल्या दिन दैनिक हजार/१२ सय कमाइ हुन्छ । रेगुलर भए त राम्रौ कमाइन्थ्यो होला । तर सात दिनमा एक दिन बल्ल हुन्छ । दशैँ आएपछि त झन् कम हुँदै गयो । पाँच सयसम्म भइरहन्थ्यो । अहिले तयो त्यो नि हुँदैन’, उनी भन्छन्, ‘पैसा छैन के घर जानू !’

आफू नगए पनि खर्च घर पठाउनुपर्ने कृष्णको बाध्यता छ । भारी बोक्ने कामसमेत नपाएर दिक्क मान्दै उनी भन्छन्– ‘बिहन ५ बजे आएर बसेको बस्यै । काम दाम छैन नेपालमा ।’

कृष्णको धादिङमा खेतबारी छ । उनी बालीनाली लगाइराखेर खर्च जुटाउन काठमाडौं आउने गर्छन् । खेतबारीको काममा मात्र लाग्दा पैसाको समस्या समाधान नहुने भएकाले नाम्लो बोकेर काठमाडौं छिर्नु उनको बाध्यता हो । कृष्ण भन्छन्, ‘यसैगरी यहाँ खान पनि नसकिएला जस्तो छ । पूरै खेतीमै लागौं भन्दा पनि पैसा चाहिने ठाउँमा पैसा नै चाहिन्छ ।’

 

काठमाडौंमा हातमा नाम्लो लिएर जीविका चलाउने कृष्ण एक्ला होइनन् । धादिङकै गल्छीकै रमेश भुजेल पनि पैसा कमाउन विगत ६ वर्षदेखि नाम्लोसँगै छन् । यस वर्षको दशैँमा घर जाने तयारीमा रहेका उनले पुग्दो खर्चको जोहो भइनसकेको तर ऋणपान गरेरै भएपनि परिवारलाई दशैँ मनाइदिने बताउँछन् । ‘दशैँमा घर जाने हो जान त !’, उनी भन्छन्, ‘तर जुटाउन मुस्किल परेको छ । फेरि दशैँ त मान्नै पर्यो । पहिलो देखि मान्दै आको पर्व अब ऋणपान गरेरै भएपनि माउनुपर्ला ।’

आफूलाई खानका लागि अन्न आफ्नै खेतबारीमा फल्ने भएपनि छोराछोरीको पढाइ खर्च जुटाउन रमेश काठमाडौंमा भारी बोकेर संघर्ष गरिरहेका छन् । १५ वर्षमै बुवाममीले बिहे गराइदिएका ३५ वर्षीय रमेशका ५ बच्चाबच्ची छन्, साथमा बुवाआमा पनि । सबैको पालनपोषण र बालबच्चको बढाइ खर्च उनले काठमाडौंमा नाम्लोले भारी ओसारेर नै धान्दै आएका छन् । तर अहिले त्यही भारी बोक्ने कामसमेत पाउन छाडिएकोमा उनी चिन्तत छन् । ‘पैसा नै सबै थोक रहेछ । त्यही नभएपछि गाह्रो हुने रहेछ’, उनी भन्छन्, ‘पैसा कमाउनैलाई भनेर आको । तर भारी बोक्ने काम नै नपाएपछि अरु के गर्नु र !’

नाम्लो लिएर काठमाडौं छिर्नुअघि रमेशले गाउँमै केही प्रयास नगरेका भने होइनन् । उनले ऋण लिएर बाख्रापालन व्यवसाय सुरु गरेका थिए । ‘व्यवसाय गर्नुपर्यो भनेर बाख्रा पालन सुरु गरेको थिएँ, तर बसै बाख्रा पनि मरे’, दुःख पोख्दै उनी भन्छन्, ‘त्यसपछि अरु केही उपाय नभएर यता लागेको ।’

ओखल्ढुंगा कटुञ्जेका नारायण कार्कीको बाध्यता पनि उस्तै छ । १५ वर्षदेखि निरन्तर नाम्लोसँग आफ्नो सम्बन्ध गाँसिएको उनी सुनाउँछन् । सोलुखुम्बुको, लुक्ला, खरिखोला, लामजुरा र नेलेसम्म भारी बोकेरै आफूले छोराछोरीलाई हर्काएको, बढाएको र पढाएको नारायण बताउँछन् । अहिले छोरोरीले पनि आफ्ना लागि सातोतिनो काम गर्न थालेको र त्यसबाट आफूलाई थोरै भएपनि राहत मिलेको उनले बताए ।

‘मैले यसरी नाम्लोसँग संगत गरेको १५ वर्ष भयो । मैले सोलुको लुक्ला, खरिखोला, लामजुरदेखि नेलेसम्म भारी बोकेको छु । भारी बोकेरै छोराछोरी हुर्काइयो, बढाइयो, पढाइयो’, ५० वर्षीय नारायण भन्छन्, ‘छोराछोरीले पनि काम गर्न थालेपछि पछिल्लो सयम केही सहज हुँदै गएको छ । तर कोठाभाडा रासनपानी सबै मैले नै अहिले पनि धान्नुपर्छ ।’

नारायणका अनुसार खासगरी कोरोना महामारीपछि आफूहरूले काम पाउने छाडेका हुन् । ‘दशैँ नजिकिएपछि काम पाइएको छैन । खासगरी कोरोनापछि धेरै कम पाउन छाडियो । कोरोना अघि राम्रो थियो’, उनले भने, ‘गाउँमा खेतबारी छ, तर पैसा हुँदैन । पैसा कमाउन आउँदा खै हुँदैन यसरी काम नै पाउन मुस्किल हुन्छ ।’

राम्रो काम पाउँदा आफूले एक दिनमै ६ हजार रुपैयाँसम्म कमाएको उनी सुनाउँछन् । तर अहिले कुनै दिन त ‘बोनी’ नै नहुने उनको दुखेसो छ । ‘कहिले ३ हजार, कहिले २५ सय, कहिले ५ सय, कहिले दुई सय, कहिले त बोनी नै हुँदैन’, उनको भनाइ छ ।

नारायणको पाँच जनाको परिवार काठमाडौंमै बस्छन् । दुःखसुख गरेर दशैँ यतै मनाउने तयारी उनको छ । उनी भन्छन्, ‘दशैँमा गाउँ नजाने । जाँदा अझ धेरै खर्च लाग्छ । परिवार यतै छौं । यसपटक यतै मनाउने ।’

उमेरले ६५ नाघिसकेको काभ्रेका कुमार हुमागाईंको दुःखका दिन अझै गएका छैनन् । उनले छोराछोरी पढाउन अझै संघर्ष गर्दैछन् । बौद्धस्तुपा गेटवरीपरी उनी दैनिक हातमा दुईचारवटा माला लिएर सडकपेटीमा बेच्न बस्छन् । तर माला बिक्री हुँदैन, भइहाले पनि धेरै नाफा हात पर्दैन । धेरै नाफा राखेर बेच्न खोज्दा कसैले किन्दैनन् । कुमारले यो धन्दाबाट घर नचलेपछि ऋण गरेर छोराछोरी पढाइरहेका छन् । ‘ममी हुनुहुन्छ ८० वर्षको । छोरीछोरी छन् । उनीहरूको कमाई छैन । मैले नै पढाउनुपर्छ’, उनी भन्छन्, ‘माला बेचेर आको नाफाले मात्र धान्दैन । ऋण खोजेर पढाइराछु ।’

कुमारले माला रुद्राक्ष र बुद्धचित्त लगायतका माला काभ्रेबाटै किनेर ल्याएर यहाँ बेच्ने गर्छन् । उनीसँग ५ सयदेखि एक हजार सम्मका मालाहरू छन् । ‘अहिले मसँग पाँच सय र एक हजारका मालाहरू छन्’, उनी भन्छन्, ‘माला त तीन हजार÷पैँतिसय सम्मको पनि हुन्छन् । तर यत्रौ महंगो लगाएर ल्याउने लगानी छैन । ल्याइहाले पनि बिक्री हुँदैन ।’

कुमार खर्च अभावकै कारण यसपटक दशैँ मान्न घर नजाने सोचमा छन् । भन्छन्, ‘जान आउन गाडी भाडा धेरै लाग्छ । त्यही भएर यतै दुःखसुख गरेर मनाउनु पर्ला !’ उनको गाउँसम्म पुग्न प्रतिव्यक्ति ८ सयदेखि एक हजार रुपैयाँसम्म गाडी भाडा लाग्छ । यो परिमाणको खर्च अरुको लागि कम भएपनि आफ्नो लागि धेरै नै रहेको उनी बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *