त्रिभुवन अंतराष्ट्रीय विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले पछिल्लो तीन महिनामा मात्र गैरकानुनी रूपमा भित्रिएको २४० केजी सुन बरामद गरिएको जानकारी गराउनुभयो ।
गत मङ्सिर ११ गते निर्देशिका जारी गरी १३ गतेदेखि भन्सार कार्यालयले विशेष अपरेसन अनुसार पहिलो दिन नै २१ केजी सुन भन्सारका कर्मचारीले नियन्त्रणमा लिएका थिए तर त्यो क्रम अझै रोकिएको छैन ।
गत शनिबार पनि एक किलो १६५ ग्राम सुन तस्करीमा संलग्न भएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका नायब सुब्बा लक्ष्मण हुमागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
हाल मात्र सुनसरी जिल्ला इटहरीका कमल घिमिरेले दुबईबाट ल्याएका १० वटा सुनका सिक्री हुमागाईंले भन्सार छलेर बाहिर पठाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गत माघ २९ गते चार केजी ८४० ग्राम सुनसहित चिनियाँ नागरिक झाङ ली भन्सार पार गरेपछि पक्राउ परेका थिए । हिमालयन एयरलाइन्सको दुबई उडानमा आएका लीले समेत सेटिङ मिलाएर सुन ल्याएको बारे अनुसन्धान भइरहेको छ ।






