काठमाडाैं । आन्तरिक पर्यटन प्रवर्द्धनकाे शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालले काठमाडौंबाट नजिकको दूरीमा रहेको सुन्दरीजलदेखि सिन्धुपाल्चोकको धाप ड्यामसम्मको एक दिवसीय पदयात्रा–२०८० गरेको छ ।
लुकेका गन्तव्यलाई उजागर गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले पर्यटन संस्था सोट्टो–नेपालले सरकारका विभिन्न निकायसँगको सहकार्यमा काठमाडौंदेखि सिन्धुपाल्चोकसम्मको गन्तव्यलाई उजागर गर्ने काम गरेको हो । २७ सेप्टेम्बरमा पर्ने ४४ औं विश्व पर्यटन दिवसको अवसर पारेर सोट्टो नेपालले गोकर्णेश्वर नगरपालिका र मेलम्ची नगरपालिकासँगको सहकार्यमा पदयात्रा गरेको हो । पर्यटनमा पर्यावरणमैत्री(हरित) लगानी नारा रहेको यसपालीको विश्व पर्यटन दिवसको अवसरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्रका सम्पदाहरुको अध्ययन, अवलोकनसँगै सुन्दरीजल–मुलखर्क–धाप ड्याम हुँदै प्रकृति रिसोर्ट हैबुङमा पुगेर पदयात्रा सम्पन्न भएको हो ।
राजधानी काठमाडौबाट नजिकै रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रका विविधताको मनोरम दृष्यसँगै पदयात्रा गरिएको हो । आवश्यक प्रचार प्रसारको अभावमा यो क्षेत्र पर्यटकीय दृष्टिले अझै ओझेलमा रहेको छ भने काठमाडौंको व्यस्त दैनिकिबाट केही समयका लागि आनन्द लिन जो कोहीलाई पदयात्रा सही हुने सोट्टो नेपालका अध्यक्ष भुवनबहादुर पाण्डेले बताए । राजधानीबाट नजिक रहेको गन्तव्यलाई प्रवर्द्धन गरेर आन्तरिक पर्यटक बढाउँदै स्थानीयलाई अधिकत्तम लाभ दिने योजनाअनुरुप सोट्टोले हरेक वर्षजस्तै गरी यो वर्ष पनि पदयात्रालाई निरन्तरता दिएको अध्यक्ष पाण्डेले बताए।
अध्यक्ष पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डसहितको सहयोगमा संस्थाले हरेक वर्ष आन्तरिक पर्यटन प्रवर्द्धन र स्थानीयलाई फाइदा दिने विविध कार्यक्रम गरिरहेको जानकारी दिए । पर्यटनको दीगो संरक्षण, प्रकृति प्रदुषण कम गर्दै स्थानीयलाई जागरुकतासँगै रोजगारी, प्रकृति र संस्कृतिको जगेर्ना, पाहुनालाई भगवान सरहको आतिथ्य सत्कारसहित पर्यटन प्याकेज विकास गर्न सोट्टो–नेपाल लागिपरेको अध्यक्ष पाण्डेकाे भनाई छ ।
पदयात्रा समापन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिका प्राकृतिक, सांस्कृतिक र धार्मिक बिविधताले भरिपूर्ण रहेकाले संघ, प्रदेश सरकारलाई बजेट बढाउन आग्रह गर्दै व्यवसायीलाई लगानी बढाउन आग्रह गरे । नगरका १३ वडा मध्ये ५ वडालाई पर्यटन प्रवर्द्धनका लागि नमूना वडाका रुपमा छनौट गरेको जानकारी दिँदै प्रमुख तामाङले नगरभित्र आउने लगानीको सुरक्षा दिन आफूहरु तयार रहेको बताए । पालिकाकी उपप्रमुख उमा प्रधानले लुकेछिपेका प्रसिद्ध पर्यटकीय स्थलको उजागर गर्ने सोट्टो नेपालको काम सह्राहनीय रहेको बताइन् । काठमाडौंबाट नजिक रहेका यस्ता गन्तव्य प्रचारप्रसारको पर्खाइमा रहेको भन्दै ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रवर्द्धन गरेर आन्तरिक पर्यटकलाई आकर्षित गर्ने कार्य गर्न सबैको समन्वय आवश्यक रहेको उपप्रमुख प्रधानको भनाइ छ । पदयात्रा कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरु, पर्यटन कार्यालयका प्रतिनिधिसहित १ सय भन्दा बढी व्यवसायी, सरकारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी छ । तर भएका स्रोत र साधनको उचित प्रचार प्रसार र प्रवर्द्धन हुन नसक्दा सबै ओझेलमा परेको भन्दै सोट्टो नेपालले हरेक वर्ष विश्व पर्यटन दिवसको अवसरमा पदयात्रा कार्यक्रम गर्दै आएको छ । सम्पदाहरु ओझेलमा पर्दा एकातिर नेपालीहरु गाउँमै रोजगारी पाउनबाट बञ्चित हुनुपरिरहेको छ भने अर्कातिर आयआर्जन पनि हुन नसकिरहेको यथार्थलाई मनन गर्दै सोट्टोले देशका कुना कन्दरामा पुगेर आन्तरिक पर्यटनको प्रचार प्रसार र प्रवर्द्धनसँगै तिनीहरुको उजागर गर्ने काम गरिरहेको छ । मुगुमा अवस्थित रारा तालको प्रवर्द्धन सोट्टोले आजसम्म गरेकोमध्ये सबैभन्दा सफल प्रवर्द्धनात्मक कार्यक्रम हो ।
अर्थ सन्जाल