


काठमाडौं । नेपालीहरुको महान चाड दशैँ आउन एक महिना पनि बाँकी छैन । दशैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेको लर्को लाग्नुपर्ने हो । तर अवस्था फरक छ । पहिलेपहिले तीज सकिएलगत्तै बजारमा दशैँको चहलपहल सुरु हुन्थ्यो । यसपटक भने बजार सुनसान छ ।
मुख्य व्यापारिक केन्द्र न्यूरोडमा दशैँ, तिहार, छठ लगायत चाडपर्व नजिकिएसँगै थामीनसक्नु भिड हुन्थ्यो । पसलहरु सामान किन्ने ग्राहकले भरिभराउ हुन्थे । सडक अनि गल्लीमा पनि उस्तै भिड हुन्थ्यो । व्यापारीलाई सामान देखाएरै नै भ्याइनभ्याइ हुन्थ्यो । उनीहरुलाई खाने समेत फुर्सद हुन्न थियो ।
तर अहिले अवस्था ठिक उल्टो छ । यी ठाउँहरुमा न त धेरै भिडभाड छ । न त व्यवसायीको मुहारमा हाँसो नै । ऋण गरेरै भएपनि सामानले पसल भरिभराउ त पारेका छन् । तर किन्ने ग्राहक छैनन् ।
व्यापारीलाई खाने फुर्सदसमेत नहुने न्यूरोड, असन, इन्द्रचोक लगायत मुख्य व्यापारिक केन्द्रहरु अहिले सुनसान छन् । कोही व्यवसायीहरु ग्राहकको बाटो कुरेर बसेका छन् भने कोही मोबाइल चलाएर । कोही व्यापारीहरु बिरक्तिएर हाइ काट्दै बसेका छन् भने केहीले गफ चुटेर समय व्यतित गर्दै छन् । केही भने फाट्टफुट्ट आउने ग्राहकलाई समान देखाउन व्यस्त छन् ।
आर्थिक मन्दीको चपेटाले व्यापार व्यवसाय तग्रिन सकेको छैन । थोरै थोरै चहलपहल देखिएपनि व्यापार कत्ति पनि नभएको व्यापारीहरु बताउँछन् । असन, न्यूरोडका अधिकांश पसल सुनसान छन् ।
कोभिड-१९ को महामारीले थिलोथिलो पारेको व्यापार अझै उठ्न सकेको छैन । विगत तीन वर्षदेखि सुस्ताएको व्यापार यसवर्ष त चलायमान हुन्छ भन्नेमा व्यवसायीहरु ढुक्क थियो । दशैँ नजिकिँदै गर्दा पनि व्यापार ठप्प हुँदा उनीहरु अतालिएका छन् । अर्थतन्त्र चलायमान नबन्दा कतिपय व्यवसायीहरु व्यवसायबाटै पलायन भइसकेका छन् भने कयौं विस्थापित हुने अवस्थामा पुगेका छन् । दशैँमा पनि व्यवसाय तग्रित नसकेका धेरै व्यवसायी पलायन हुने जानकारहरु बताउँछन् ।
सरकारले अर्थतन्त्रमा समस्या छैन भनेर आश्वस्त पार्दै आए पनि अर्थतन्त्र गम्भीर अवस्थामा रहेको संकेत बजारले देखाएको छ ।
यस वर्षको व्यापार आशाभन्दा पनि निराशाजनक रहेको व्यवसायी दक्षमणि गौतम बताउँछन् । बाहिरबाट न्यूरोडमा आउने क्रेतामा पनि उत्साह घटेको उनको भनाइ छ ।
जुत्ताचप्पल उद्योग व्यवसायी संघका अध्यक्ष समेत रहेका गौतम आर्थिक मन्दीले समग्र व्यवसाय समस्याबाट गुज्रीरहेको बताउँछन् ।
चारपाँच महिना यताबाट व्यवसाय संकट बढ्दै गइरहेको उनले बताए । उनी भन्छन्, ‘तीजसँगै व्यवसाय फस्टाउँदै जानुपर्ने हो । तर अहिले अवस्था त्यस्तो छैन । तीजले नै दशैँको व्यवसायको अवस्था देखाउँछ । यसपटक नैराश्यता देखा पर्यो । समग्रमा भन्नुपर्दा व्यवसायको स्थिति नाजुक छ ।’
ब्याजदर वृद्धि, सहकारी संस्थामा देखिएका समस्या राजनीतिक घटनाक्रम लगायत समस्याले गर्दा व्यवसाय पनि चपेटामा परेको उनले बताए ।
न्यूरोडमा मोबाइल पसल चलाउँदै आएका महेश आचार्य पनि अहिले किन्ने भन्दा पनि बुझ्न आउने ग्राहक मात्र रहेको बताउँछन् । उनी भन्छन्, ‘तीन चार वर्षअघि बजारमा जुन खालको फ्लो छैन । लकडाउन अगाडि जस्तो चहलपहल छैन । अहिले मान्छेसँग पैसा पनि छैन ।’ सीमित ग्राहक र बढ्यो व्यवसायको कारण पनि व्यापार घटेको उनको अनुमान छ ।
करिब १५ वर्ष व्यवसाय गरिसकेका आचार्यले यसपटक सबैभन्दा खराब व्यवसायको अनुभव गरेका छन् । कोरोनापछि सुस्ताएको व्यवसायले गति लिन नसकेको अनी बताउँछन् ।
न्यूरोडमै कपडा व्यवसाय सञ्चालन गर्दै आएका कमल शर्माको दिन पनि ग्राहक आउँछन् कि भनेर बाटो कुरेरै बित्छ । कुनै बेला खानेसम्म फुर्सद नहुने उनको अहिले मोबाइल अधिकांश समय मोबाइल चलाएरै बित्ने गरेको छ । अहिले व्यवसाय अत्यन्तै खस्किएको उनी बताउँछन् ।
अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष व्यापार झनै खस्किएको उनको भनाइ छ । ‘तीजमा पनि व्यापार भएन । यसवर्ष व्यापार २० प्रतिशत जति मात्र भएको छ । बोनी गर्न गर्न नसक्ने अवस्था छ । सटर धमाधम खाली हुन थालेका छन् ।’ – उनले भने ।
आर्थिक मन्दी र बैंक तथा वित्तीय संस्थामा उत्पन्न समस्याका कारण पनि व्यवसायमा सुस्तता छाएको उनको ठहर छ ।
‘यस वर्ष दशैँ लाग्ला जस्तो छैन हामीलाई, व्यापार ठप्प छ ।’ न्यूरोडमा जुत्ताचप्पलको व्यवसाय गर्दै आएकी मनिला श्रेष्ठले मलिन अनुहार पार्दै भनिन् । उनी भन्छिन्, ‘सटर भाडा नै तिर्न सक्ने अवस्था आइसक्यो ।’
अर्का व्यवसायी अमन पोदार पनि यसवर्ष व्यापार २० प्रतिशत पनि हुन नसकेको बताउँछन् । उनी भन्छन्, ‘मुख्य सिजनको बेला पनि व्यापार छैन । वैशाखमा त राम्रै भएको थियो । अब व्यवसाय चलायमान होला भन्ने अपेक्षा थियो तर भएन ।’
मानिसको क्रयशक्ति नै घटेका कारण व्यवसायमा मन्दी छाएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘अधिकांश व्यवसायीहरुले दशैँका लागि ऋण लिएर सामान थपेका छन् । अवस्था यस्तै रहिरह्यो भने धेरै व्यवसायी पलायन हुने अवस्थामा पुग्छन् ।’
यी त प्रतिनिधि पात्र मात्र हुन् । सिजनकै बेला व्यापार नहुँदा देशभरका अधिकांश व्यापारीको मुहारमा खुशी छैन । उनीहरुले दशैँ आएको महसुस गर्न सकेका छैनन् ।

सरस्वती अधिकारी