काठमाडौं । आज कुशे औँशी अर्थात् बाबाको मुख हेर्ने दिन । सर्वप्रथम सम्पूर्ण पूजनीय बाबाहरुमा उच्च सम्मानसहित कुशे औँशीको शुभकामना ।
बाबाप्रति केही शब्द कोर्न चाहेँ। दुई अक्षरले बनेको ‘बाबा’ शब्द सुन्दा र भन्दा जति सरल र सहज छ, एउटा असल बाबाको परिचय दिन पक्कै सजिलो छैन। बाबाले निभाउने भूमिका र त्याग सानो छैन ।
जन्मदिने र संस्कारको पहिलो बीज रोपी दिने मेरा आदरणीय आमा-बाबाको कहिल्यै नथाक्ने सन्तानप्रतिको मिठो माया, हौसला र साथले आज म जुन जीवन बाँचेकाे छु, म आफू बन्न पाएकाे छु, र संसार देख्न पाएको छु।
बुवाआमाभन्दा महान मेरो लागि अरुको हुनसक्ला र ? धर्तीमा प्रवेश गरेसँगै उघारिएका मेरा आँखाले यो संसार देख्न र भोग्ने अवसर पाए यसको लागि जन्मदिने आमा र कर्म दिने बाबा र मलाई हुर्काएर मलाई संसार देखाउने मेरी आमाप्रति सम्मान गर्ने मसँग शब्द नै छैन।
जब म जन्मिए तब जन्मदिने आमाले मलाई अनि संसार छाडेर जानू भयो । मलाई जन्म नदिए पनि मेरी कान्छी आमा (सानिमा) ले आमाको माया कहिल्यै कमि हुन दिनुभएन । मलाई संसार देखाउनकाे लागी हुर्काउनु र हरेक पाइलामा हजुरले मलाई आशिर्वाद दिनुभयो । मलाई कहिल्यै आमाको माया कमि हुन दिनुभएन ।
जीवनको सुरुवात रुदै हाँस्दै, लड्दै र भिर पाखा लड्दै, चड्दै गर्दाको सिकाइबाट भोलि जीवनकाे हरेक चुनौतीहरूसँग यसैगरी उठ्न जान्नुपर्छ। जीवनमा हर संघर्ष बुझाउने, सिकाउने अनि अगाडि बढ्न प्रेरित गरिरहने तपाईको पाठले आज म यहाँसम्म आइपुगेकाे छु ।
वास्तविक जीवन भोगाइको मूल्य र महत्व छुट्टाउन सक्ने भएको छु । नैतिक शिक्षा र संस्कार के हो ? बुझ्न सक्ने भएँ । प्रेरणाका महत्वपूर्ण पाठहरु चिन्न सक्ने भएँ । तर असल बाबा-आमाको ठोस परिभाषा र महानतालाई बुझ्न र बुझाउन भने सकेको छैन । बुवाको त्यो त्याग, त्यो समर्पण र त्यो मार्गदर्शनले गर्दा नै मैले जीवनको बाटोहरु पहिल्याउन जानेको छु ।
अभावलाई पूरा गर्न गरिएका संघर्ष र पसिनालाई किन लुकाइन्छ ? कहिल्यै पढिएनन् आमा-बाबाका अनुहारमा सल्बलाएका दुःखका वक्र रेखाहरु । कहिल्यै सुनिएनन् सुस्केराहरु ।
मेरो जीवनको प्रेरणाको स्रोत तपाई, आफू जलेर मलाई प्रकाश दिने, घामपानी सहेर मलाई शीतल दिएर हुर्काउने, मलाई खुशी पार्न अभावमा दवावमा बाँच्ने हजुरभन्दा महान अरु को होला र ? आफू च्यातिएको लुगा टालेर लगाएर मेरो लागि नयाँ किनेदिने तपाई आफ्नो पाइलामा कयौं पटक काँडाले बिज्दा पनि मलाई चप्पलको अभाव हुन दिनुभएन ।
जिम्मेवारीको चर्को घामले पोलिरहँदा कल्पना नगरेका परिस्थितिहरुले बार-बार टक्कर लिइरहँदा पनि तपाईले आफ्नो कैयौँ सपनाहरु मनभित्रै तुहाएर हरेक चुनौतीलाई सामान्य सम्झिँदै साहस र बहादुरीका साथ असल अभिभावकको पहिचान दिन कहिल्यै डगमगाउनु भएन । हो तपाई जस्तो साहसीको माया, प्रेम, गाली, हौसला र स्याबासीसँगै आज म ठूलाे भएँ ।
तपाईलाई खुशी राख्न सकुँला नसकुँला तर हजुरलाई रुन दिने छैन । तपाईले सिकाएको हरेक कुरालाई म प्रेरणाको रुपले लिइरहनेछु । तपाईले दिएको सत्मार्गमा हिडिरहनेछु ।
अन्त्यमा, कुनैपनि बाबाआमा सन्तान जन्माएको पश्चातापमा यिनै सन्तानको बोझ भएर वृद्धाश्रम जान नपरोस् । उनीहरुले मिठो खान राम्रो लगाउन कुनै विशेष दिन कुर्न नपरोस् । चाडपर्वहरुलाई जगेर्ना र हस्तान्तरण गर्नको नाममा एकदिन मात्र सामाजिक सञ्जालमा मिठा परिकार र रंगीन तस्बिरहरु सजाएर उत्सव मनाउँदैमा बाबाआमाप्रतिको माया र कर्तव्य पूरा भएको नठानौँ ।
खकेन्द्र बहादुर बुढा