जीईएफको ७ औँ विश्व सम्मेलनमा अर्थमन्त्री डा.महतको सम्बोधन

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बिहीबार ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएका छन् । क्यानाडाको भ्यानकुभरमा आयोजित सम्मेलनमा सहभागी हुँदै उनले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्विपक्षीय बिषयमा छलफल गरेका छन् ।

सो अवसरमा विश्व वन्यजन्तु कोषका प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम प्रशासक अकिम स्टिनर तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघकी निर्देशक डा.ग्रेथल अग्वीलरसंग जलवायु परिवर्तनले पारेको विश्वव्यापी प्रभाव तथा नेपालले सामाना गर्नुपरेका चुनौतीहरू एवं त्यसको न्यूनीकरण गर्ने उपायहरूको बारेमा छलफल गरेका छन् ।

द्धिपक्षीय बैठकका क्रममा अर्थमन्त्री डा.महतले वातावरण संरक्षणको क्षेत्रमा नेपालले गरेका प्रयास तथा उपलब्धिको बारेमा प्रकाश पारेका छन् । मन्त्री महतले नेपालले सामूदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुर्याएको, पछिल्लो दशकमा बाघको संख्यामा तेब्बर वृद्धि तथा गैंडाको संख्यामा झण्डै दोब्बर वृद्धि भएको जानकारी दिएका छन् ।

No description available.

यो उपलब्धिका साथै नेपालमा मानव र जंगली जनावरबीच द्वन्द्व सिर्जना भएको र यसबाट धनजनको क्षति तथा यसका लागि नेपालले ठूलो स्रोत साधन खर्च गर्नुपरेको समेत उनले बताए । यसैगरी मन्त्री महतले वन तथा वन्यजन्तु संरक्षणको लागि सडक लगायतका पूर्वाधार निर्माणमा वन्यजन्तु आवतजावत मैत्री पूर्वाधार निर्माणको साथै मानव वन्यजन्तु द्वन्द्वका कारण प्रभावित समुदायहरूको लागि जोखिम बीमा तथा स्वरोजगार एवं आय आर्जनका लागि अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगका लागि आग्रह समेत गरे ।

यसैक्रममा नेपाललाई सीप तथा क्षमता विकासका साथै वित्तीय स्रोतको आवश्यकता रहेको बिषय पनि उनले उल्लेख गरे । वातावरणीय कोष तथा सुविधाका कार्यक्रमहरु ठोस नतिजा प्राप्त हुनेगरी राष्ट्रिय प्रणालीबाट परिचालन गर्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमहरुले स्थानीय जनताको जीवनस्तर र आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनुपर्ने उनले बताए ।

No description available.

विश्व सम्मेलनमा ८३ देशका मन्त्रीहरू तथा १८५ देशका प्रतिनिधिको सहभागिता रहेको छ भने सम्मेलनको समापन अगस्ट २५ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *