

काठमाडौँ । पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले कार्टेलिङ हट्नु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले बैंकको ब्याजदर निर्धारण बजारले नै गर्नुपर्ने समेत बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिकृया दिएका हुन्
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले साउन १ गते अर्थात् आजदेखि लागू हुने गरी ब्याजदरमा हाल कायम कार्टेलिङ अर्थात ब्यादरको भद्र सहमति हटाएको छ । खुला बजार अर्थनीतिमा पनि मिलेमतोमा बैंकहरुले ब्याजदर कार्टेलिङ गरेको भन्ने चौतर्फी विरोधपछि बुधबारको बैठकबाट बैंकर्स संघले ब्याजदरमा कायम भद्र सहमति हटाउने निर्णय गरेको हाे।
बैंकहरूले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । उक्त निर्णयसँगै वाणिज्य बैंकहरुले दिने निक्षेपको ब्याजदरमा प्रतिस्पर्धा देखिएको छ। असार महिनासम्म नेपाल बैंकर्स संघ एनबिएले तोके अनुसार एकै सिसिमको ब्याजदर निर्धारण गर्दै आएका बैंकहरुले साउन महिनादेखि आफ्नै हिसाबले फरक परक ब्याजदर तोकेका हुन् ।
अहिले सबै बैंकले एकै किसिमको ब्याजदर तोक्ने काम गर्दा वित्तीय क्षेत्रमा प्रतिस्पर्धा हुन नसकेको गुनासो र जनताले सहज रुपमा तरलताको महसुस गर्न पाउनपर्ने चर्चा भइरहेको अवस्थामा बैंकहरुले गरेको यो पछिल्लो निर्णयले बजारलाई प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ ।
यसै सन्दर्भमा बैंकर पर्शुराम कुँवर क्षेत्रीले बैंकको ब्याजदर निर्धारण बजारले नै गर्नुपर्ने बताएका छन् । उनले खुल्ला बजारको अवधारणामा बैंकको ब्याजदर निर्धारण गर्न कुनै पक्षले एकरुपताको अभ्यास गर्न नहुने उनको भनाई छ । सबै बैंकमा एउटै व्याजदर हुँदा बजार प्रतिष्पर्धी बन्न नसकेको उनको दावी छ ।
उनले भने, ‘यतिखेर तरलताको अवस्था सहज रहेको हुँदा बैंकहरुले ब्याजदर निर्धारणको जिम्मा बैंकहरु स्वयम्लाई दिनु ठिक हुनेछ । ‘विगतमा बजार असहज अवस्थामा हुँदा बैंकर्स संघले ब्याजदर नियन्त्रण गर्न गरेको भद्र सहमति ठिकै थियो तर अहिले झण्डै ४ खर्ब बराबर बैंकहरुसँग लगानीयोग्य रकम छ । यस्तोमा ब्याजदर बढाउने कि घटाउने बैंकलाई नै छाड्नुपर्छ ।’
क्षेत्री भन्छन्, ‘प्रतिस्पर्धी बजारमा ब्याजदर निर्धारण गर्ने बजारलेनै हो, तसर्थ यसको सम्पूर्ण जिम्मा बैंकलाईनै दिनुपर्छ,अन्यथा यसको सन्तुलनमा खरावी देखिन्छ ।

अर्थ सन्जाल