कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिट न्यायाधीश मल्लको इजलासमा

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेसी तोकिएको छ । गत शुक्रबार दर्ता भएको उक्त रिट निवेदनमा चौथो पटक पेसी तोकिएको हो ।

आइतबार, सोमबार र मंगलबार पेसी तोकिए पनि यो रिट निवेदनमा सुनुवाइ हुन सकेन । लगातार तीन दिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको यो रिट निवेदन बुधबार चौथो दिन पेसीमा चढेको छ ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई रिट निवेदनमा विपक्षी बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *