

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । सीआईबीले पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकेको छ ।
बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै प्रहरीले तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोबिरुद्ध पनि पक्राउ पूर्जी लिएको छ । पक्राउ पूर्जी जारी भएकामध्ये पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ पनि ब्यूरोको हिरासतमा छन् ।
११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दामा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
यसैगरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दामा ११० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छ ।
२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । सीआईबीले यो प्रकरणमा अहिले सरकारी लिखत कीर्ते र संगठित अपराधको कसूर अन्तरगत अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको छ ।

अर्थ सन्जाल