काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीको बदमासीका कारण लाखौँ लगानीकर्ताको अर्बौं रुपैयाँ बन्धक बनेको छ । कम्पनीले प्रिमियममा आईपीओ जारी गर्दा मागबमोजिम आवेदन नपर्ने संकेत पाएपछि कम्पनीकै चलखेलमा नक्कली आवेदन परेको खुलासा भएपछि जारी आईपीओ प्रकिया रोकिँदा लगानीकर्ताको रकम समेत तत्कालका बन्धक बन्न पुगेको हो ।
कम्पनीको आईपीओमा एक करोड ३० लाखभन्दा बढी कित्ता नक्कली आवेदन परेपछि धितोपत्र बोर्डले कम्पनीको आईपीओ बिक्री प्रक्रिया तत्कालको लागि स्थगित गरेको हो ।
छानबिन प्रक्रिया नटुंगिएसम्म कम्पनीको आईपीओ बिक्री पूर्ण रुपमा स्थगन भएको छ । बोर्डले अनुसन्धान तथा छानविन प्रक्रिया सम्पन्न नगरेसम्मको लागि हालसम्म आवेदन दिएका लगानीकर्ताको पैसा खाता मै होल्ड भएर बस्नेछ ।
कम्पनीको आईपीओ स्थगित भएसँगै लगानीकर्ताहरुमा भने अन्यौलता बढेको छ । अब कम्पनीको आईपीओ बिक्री प्रक्रिया कहिलेसम्म स्थगन हुने हो भन्ने टुंगो छैन । कम्पनीको आईपीओ नै रद्द हुने होकी बिक्रीमा आउने हो भन्ने अन्यौलता पनि उतिकै छ ।
कम्पनीले बदमासी गरेको भन्दै लगानीकर्ताहरु आफूहरुको पैसा होल्ड गरेर राख्न नपाइने बताइरहेका छन् । कम्पनीले कानुनको खिल्ल्ली उदाउँदै सोझासाझा लगानीकर्ता फसाउन खोजेको उनीहरुको आरोप छ । छिटोभन्दा छिटो छानबिन गरी कम्पनी सञ्चालकलाई कानुनी दायरामा ल्याउनुपर्ने लगानीकर्ताहरुको माग छ ।
कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारण लगानीकर्ताको लागि ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले गत जेठ ३२ गतेदेखि अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको हो ।
उक्त आईपीओमा छिटोमा असार ४ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो भने सो अवधिमा पूर्ण आवेदन नपरेको खण्डमा ढिलोमा असार १४ गतेसम्म आवेदन दिन पाउने भनिएको थियो ।
तर कम्पनीको आईपीओमा छिटोमा आवेदन दिने समय अगावै ओभरसब्सक्राइब्ड भइसकेको भनिएको थियो । कम्पनीले जारी गरेको आईपीओमा करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको भनिए पनि फेरि अन्तिम दिन आवेदन दिने म्याद थप भएसँगै चलखेल भएको आशंका गरिएको थियो । उक्त आशंकापछि कम्पनीको आईपीओमा पैसा नै नभएको खाताबाट करौडौंको आवेदन परेको तथ्य सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले पत्ता लगायो । कम्पनीको आईपीओमा ठूलो मात्रामा नक्कली आवेदन परेको पाइएपछि सिडीएससीले यस विषयमा धितोपत्र बोर्डलाई जानकारी गराएको थियो । त्यस लगत्तै बोर्डले छानबिन कमिटि गठन गरी तत्कालको लागि कम्पनीको आईपीओ बिक्रीमा रोक लगाएको हो ।
यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानी कोषहरूमा तीन लाख २८ हजार ९६१ कित्ता, कम्पनीका कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दामा ७७ हजार २९० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।







