पोखरा विमानस्थललाई बिआरआईसँग किन जोड्दैछ चीन ?

काठमाडौँ । नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जोड्न थालेको छ ।

चीनको एक्जिम बैंकले सस्तो ब्याजदरमा ऋण दिन तयार भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सन् २०१४ मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सम्झौता गरेको थियो ।

चीनको बिआरआई परियोजना सन् २०१७ मा सुरु भए पनि पुरानो परियोजनालाई चीनले बिआरआईसँग जोड्न लागेको भन्दै आलोचना भएको छ । नेपालले बिआरआई परियोजनामा हस्ताक्षर गर्नुपूर्व नै पोखरा विमानस्थल निर्माण अघि बढेको क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले बताए ।

‘नेपालले बिआरआईमा हस्ताक्षर नगर्दै चीनको एक्जिम बैंकको सफ्ट लोनमा विमानस्थल निर्माण थालिएको थियो,’ गौतमले भने, ‘ऋण लिएर विमानस्थल निर्माण अघि बढेपछि मात्र बिआरआई परियोजनामा सम्झौता भएको हो ।’ चिनियाँ अधिकारीले बिआरआई परियोजनासँग जोडेकोमा उनले आश्चर्य व्यक्त गरे ।

‘पोखरा विमानस्थलसँग बिआरआईको कुनै साइनो छैन,’ उनले भने, ‘बिआरआईसँग जोड्दा अन्य मुलुकले यसप्रति हेर्ने दृष्टिकोण फरक हुन सक्छ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *