माछापालनबाट वार्षिक एक करोड ३० लाख आम्दानी

पर्वत ।‘सुन फल्छ नि साईलो दाइ यही माटो चलाए,
किन जानु साइलो दाइ हङकङ र मलाय’

आफ्नै माटोमा अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेका बेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वजनप्रतिनिधिले रेन्वो ट्राउट माछापालन गर्दै आएका छन् । पर्वतको मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले रेन्वो ट्राउट माछापालनबाट वार्षिक रू एक करोड ३० लाख आम्दानी गरिरहेका छन् ।

एक्काइस वर्ष लामो प्रहरी सेवा र विसं २०७४ को स्थानीय तहको निर्वाचनमा मोदी–२ देउपुरको वडाध्यक्ष बनेर कार्यकाल सकेका तिमिल्सिनाले आफूसहित अन्य चार जना स्थानीयको सामूहिक लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गरेका हुन् ।

मोदी–५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा झण्डै ३० रोपनी क्षेत्रफलमा रू तीन करोड लगानीमा सञ्चालित फार्मबाट वार्षिक रुपमा रू एक करोड ३० लाख भन्दा बढी आम्दानी हुने गरेको उनले बताए । जनप्रतिनिधि बनेसँगै व्यवसायमा जोडिनुभएका तिमिल्सिनाको अहिले पूर्ण कार्यकाल माछापालनमा बित्ने गरेको छ ।

चारैतिर वन र दुईतिर खोलाकोबीच भागमा रहेको पातीखोला रेम्बो ट्राउट पालनका लागि उपयुक्त हावापानी भएको ठाउँ हो । पोखरा बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट ४० मिनेटको दुरीमा पुग्न सकिने उनको फर्म जोकोहीका लागि मन लोभ्याउने केन्द्र बन्न पुगेको छ ।

फार्म यतिबेला विभिन्न क्लब, सङ्घ संस्था, विद्यालय तथा कलेजका विद्यार्थी एवं किसान अध्ययन तथा अवलोकनका लागि आउने गरेका तिमिल्सिनाले बताए । “फार्ममा उत्पादित ट्राउट माछा पोखरा, काठमाडौँलगायत सहरका माछा पारखीलाई पुर्‍याउन भ्याइनभ्याई भएको छ”, उनले भने । उनका अनुसार फार्ममा पाँच जनाले रोजगार पाएका छन् । फार्ममा वार्षिक सवा लाख माछा उत्पादनको क्षमता रहेको छ ।

विसं २०७१ देखि सुरु भएको उक्त फार्म सुरुमा यामप्रसाद शर्मा लगायत व्यक्तिले सञ्चालन गरेका थिए । केही वर्षअघि आएको बाढीले फार्म पूर्णरुपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी पाँच जनाको सामूहिक लगानीमा पुनः नयाँ फार्म सञ्चालन गरिएको थियो । फर्म व्यवस्थापनको सबै जिम्मा तिमिल्सिनाले लिएका छन् ।

फार्मबाट प्रतिवर्ष करिब रू एक करोड ३० लाख आम्दानी हुने गरेको छ भने झण्डै रू सवा करोडको हाराहारीमा खर्च हुने गरेको सञ्चालक शर्माले जानकारी दिए । अन्य समयमा फार्मबाट मनग्ये आम्दानी हुने गरेको सुनाउँदै उनले कोरनाकालमा धेरै दुःख र हैरानी झेल्नुपरेको बताए ।

शर्माका अनुसार अस्थायी र स्थायी गरी कूल ३७ पोखरी छन् । “फार्म सञ्चालनका लागि सुरुमा तत्कालीन कृषि विकास कार्यालय पर्वतले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । पछिल्लो समयमा कृषि ज्ञान केन्द्र पर्वतले केही प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ”, उनले भने ।

केही महिनाअघि मात्रै मत्स्य विकास केन्द्रले फार्मको थप स्तरोन्नति गरी पोखरी निर्माणका लागि रू पाँच लाख सहयोग गरेको शर्माले जानकारी दिए । हाल रेम्बो ट्राउट माछा प्रतिकेजी रू एक हजारमा बिक्री हुने गरेको छ । “पोहोर–परारसम्म त होलसेलमै एघार/बाह्र सयसम्म पाथ्र्यौ ।

विकास तिमिल्सिनाकी धर्मपत्नी सरस्वती भन्नुभयो, “दाना ल्याउन र माछा ढुवानी गर्न कच्ची बाटो भएकाले केही कठिन भएको छ । किसानका गफ गर्ने सरकारले यस्ता उद्यमीहरुलाई राहात हुने गरी कृषि सडकको स्तरोन्नति गरिदिए हुन्थ्यो ।” फार्म दुई खोलाको बीचमा रहेकाले आवातजावत गर्न पुल नहुँदा काठको कच्ची पुल आफैले निर्माण गरी ओहोरदोहोर गर्नुपरेको उबको भनाइ थियो ।

भारतीय बजारबाट सस्तो दरको माछा स्थानीय बजारमा सहजै आउने भएकाले बजारीकरणका लागि केही समस्या हुने गरेको तिमिल्सिनाको गुनासो छ । उहाँका अनुसार भारतीय बजारको माछा रू चार/पाँच सय केजी पाइन्छ । “हाम्रो स्थानीय उत्पादन स्वाद र गुणस्तरमा राम्रो भए पनि उपभोक्ता सबैले गुणस्तर नहेर्ने भएकाले समय–समयमा केही समस्या झेल्न परिरहेको छ”, उनले भने ।

तिमिल्सिनाले चोरी निकास भई भारतीय बजारबाट आउने माछाको गुणस्तरीयता मापन गर्न, उपभोक्ता प्रतिकूल हुने खालका माछा बिक्री वितरणमा रोक लगाउन तथा नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा लापरवाही गर्नेलाई कडा निगरानी गर्न तीनै तहका सरकारकासँग माग गरे ।

“स्थानीय लोकल मोदीखोलाको माछाको स्वादमा पाइने भएकाले स्थानीयको रोजाइमा यहाँ उत्पादित माछा पर्ने गरेको छ”, उनले भने । यहाँ उत्पादन हुने माछाको माग स्थानीय कुश्मा–बागलुङ बजारका साथै पोखरा, काठमाडौँलगायत क्षेत्रमा हुने गरेको उनको भनाइ थियो ।

भुरा उत्पादन समेत सुरु

पातीखोला रेन्बो ट्राउन फार्ममा माछाका भुरासमेत उत्पादन गर्न थालिएको छ । सञ्चालक तिमिल्सिनाले छुट्टै ह्याचरी (पोखरी) निर्माण गरी सोही पोखरीमा परिपक्क माउ माछा राखी असोजदेखि भालेपोथी छुट्याउने र उनीहरुबाट कृतिम विधिबाट भुरा उत्पादन सुरु गरिएको जानकारी दिनुभयो । विसं २०७३ देखि भुरा उत्पादन सुरु गरिएको भए पनि व्यावासायिक रुपमा यही वर्षदेखि सुरु गरिएको उनले बताए ।

यस वर्ष आफ्नो फार्मका लागि चाहिने सवालाख बढी भुरा उत्पादन गरेको तिमिल्सिनाले जानकारी दिए । “यस वर्ष हामीले आफ्नो लागि मात्र उत्पादन गर्यौँं, अर्को पटक भुरा पनि बिक्री गर्ने गरी उत्पादनमा जुट्छौँ”, उनले भने, “यहाँको हावापानी राम्रो छ, यहीं पानी घट्टसमेत निर्माण गरेर स्थानीय उत्पादन जम्मा गरी माछाका लागि केही आहारा पनि स्थानीयस्तरमै निर्माण गर्ने गरेका छौँ ।”

तिमिल्सिनाका अनुसार भुराका लागि सिद्रामाछा, अण्डा, ल्याक्टोजिन, दूध, इष्ट, भिटामिन ‘ए’, ‘वी’, ‘सी’, ‘डी’, ‘इर्’, ‘वीवान, वीटु, वीसिक्स, वीटुवेल, भट्ट, आँटा चाहिन्छ । यी खाद्यान्नको समुचित प्रयोग गरेर भुरा माछालाई नौ महिनापछि १२ ग्रामको बनाउन सकिन्छ । माछाका लागि चाहिने दाना अलिक महँगो रहेको उनको गुनासो छ ।

“ठूलो माछाका लागि प्रतिकेजी रू एकसय ५५ र सानो माछाका लागि प्रतिकेजी रू छ सय बढी पर्ने गर्दछ”, तिमिल्सिनाले भने, “पूरै प्याकेजिङ दानाको भरपर्यो भने महँगो हुने भएकाले स्थानीयस्तरमा दाना बनाएर खुवाउने कुरामा समेत हामी लागि परेका छौँ ।” उनका अनुसार माछा दुईसय ग्राम भएपछि खानयोग्य हुन्छ ।

तिमिल्सिनाले यसको तौल अधिकतम् पाँच किलोसम्म हुने उनले जानकारी दिए । रेम्बो ट्राउट माछा स्थानीय असला माछाको स्वादमा पाइने हुँदा धेरैको रोजाइमा पर्ने गरेको उनको भनाइ थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *